नेपाल कम्युनिष्ट पार्टी (नेकपां) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच चर्को मतभेद र तनाबको स्थिति सिर्जना भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा दुई अध्यक्षबीच भनाभन र विवादको स्थिति उत्पन्न भएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले भारत र नेपालका नेताहरुले आफुलाई हटाउन खोजेको अभिव्यक्तिबारे स्पष्टीकारण मागिएको एक नेताले जानकारी दिए। द्वितीय अध्यक्ष दाहालले आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको दाबी गरे।
दाहालको भनाइ उदृत गर्दै एक सदस्इले भने, ‘मदन भण्डारीको जन्म जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाइले पार्टीको प्रतिष्ठा गिराउनु भयो। भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन।’
यसको जवाफमा प्रधानमन्त्री ओलीले यहाँ बैठकमा भएको कुरा कसरी दिल्ली मिडिया पुग्यो भन्दै जंगिएका थिए। ओलीले भने, ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले?’
दाहालले प्रधानमन्त्री ओलीलाई जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै भारतले नभई आफूले पद छाडन भनेको बताउँदै तत्काल पार्टीको अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिएर निकास दिन दबाब दिए।
‘यसअघि पनि दिल्लीले होइन। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुहोस्’ दाहालको भनार्इ उदृत गर्दै एक नेताले भने।
धेरै समयदेखि दुई अध्यक्ष बीचको मनमुटाब आजको बैठकमा छताछुल्ल भएको छ। आज बरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरुले बैठकमा आफ्नो धारणा राखेका छन।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय