हिमाल दैनिक
राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले केही वर्षभित्रमा नेपालमा नै सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने तयारीमा रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहिबार बसेको बैठकमा उनले नेपालमा नै सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना भएपछि महङ्गो शुल्क तिरेर बिदेशमा राहदानी छपाउनुपर्ने बाध्यता हट्ने आशा व्यक्त गरे। खड्काले अहिले २० लाख थान विद्युतीय राहदानी छपाउन टेण्डर आह्वान गरिएको जानकारी दिए। उनका अनुसार, उक्त राहदानीले तीन बर्षसम्म बितरण गर्न पुग्नेछ। महानिर्देशक खड्काले विद्युतीय राहदानी छपाई प्रक्रिया हतारोमा नगरिएको पनि दाबी गरे। आवश्यकता र सरकारको प्राथमिकताका आधारमा राहदानी छपाई गरिने गरिएको उनको भनाई छ। उनले राहदानीलाई कालो सूचीमा राख्ने प्रक्रियाहरुमा पनि बिभाग सचेत रहेको बताए। बैठकमा समिति सदस्यहरुले विभागले छाप्न खोजेको विद्युतीय राहदानीको लागत एमआरपीको भन्दा महँगो गर्ने देखिएको आशंका गरे। उनीहरुले आवश्यकताका आधारमा मात्र राहदानीको छपाई प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update