देशका जल्दाबल्दा विषयमा छलफलका लागि पटक पटक म्याद तय गर्दै र गुज्रँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बसेपनि बैठकमा दुई अध्यक्षबीचको कटाक्ष र असन्तुष्टि व्यक्त गर्नमै केन्द्रित भएर टुंगिएको छ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको सुरुवातमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद र सरकारी टेलिभिजनमार्फत सरकारको विपक्षमा रहेका विपक्षीहरुलाई ओठे जवाफ दिएर सरकारको बचाउ गरेजस्तै लामो समय लगाएर सरकारले सबै कुरा राम्रो गरेको दाबी गरेका थिए।
उनले सरकारले जतिसुकै राम्रा काम गरेको भएपनि नराम्रै मात्र भएको र सबै कुरामा भ्रष्टाचार र अनियमितताको अध्याँरा पाटाहरुमात्रै देखाउँदै आलोचना मात्रै गरेर आफूलाई असहयोग गरिरहेको आरोप लगाएको बैठकमा सहभागी एक सदस्यले बताए।
यसका बाबजूद सरकारले काम गर्ने क्रममा कहिँकतै कमिकमजोरी भएको भए त्यसलाई सच्याएर अघि बढ्न आफू तयार रहेको पनि उनले बताएका थिए।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको दम्भ र अहंकारपूर्ण अभिव्यक्ति सुनेर रुष्ट बनेका द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सत्ता सञ्चालनमा ओलीले अपनाएको कार्यशैलीप्रति खरो शैलीमा आफ्ना असन्तुष्टिहरु पोखेको स्रोतले बतायो।
पार्टी र सरकारसँगै देशका लागि हितकर हुने आशामा आफूले तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण गर्दा पार्टी र सरकारको नेतृत्व आलोपालो चलाउने गरी भएको सहमतिबाट पछि हटेर पाँच वर्ष सत्ता सञ्चालनको जिम्मेवारी ओलीलाई दिएर कतै गम्भीर गल्ती पो गरिएछ कि भन्ने आफूलाई लागेको अध्यक्ष दाहालले बताएका थिए।
त्यसको बदलामा प्रधानमन्त्री ओलीमा दम्भ र अहंकार बढ्दा अहिले सरकार र पार्टी दुबैको भूमिकाप्रति आम कार्यकर्तादेखि जनतासमेत असन्तुष्ट बन्न पुगेको दाहालको भनाई रहेको थियो।
पार्टी र सरकारलाई बाहिरबाट असफल बनाउन हुन सक्ने सबै प्रकारका गतिविधिहरु राजनीतिमा स्वभाविक भएको बताउँदै उनले ओलीको नेतृत्वमा सरकारले काम गर्न नसकेपछि यसले पार्टी र सरकार असफलताको बाटोमा लैजाने खतरा बढेको उनले बताएका थिए।
नेतृत्वको गलत कार्यशैलीको विरुद्धमा बोल्दा र आन्तरिक संघर्ष गर्दा पार्टी नै विभाजित हुन सक्ने खतरा आफूले देखेको बताउँदै दाहालले यसका बाबजूद आफू कुनै हालतमा पनि विभाजनको बाटोेमा जान नसक्ने धारणा राखेका थिए।
साथै उनले सबैले आफ्ना कमिकमजोरीहरु सच्याएर पार्टीलाई एकताबद्ध बनाउन र देशलाई अघि बढाउन प्रतिबद्ध हुनु पर्नेमा जोड दिएका थिए।
पार्टी प्रवक्ता नारायणकाजीका अनुसार, आजको बैठकमा छलफलका लागि सात बुँदे एजेण्डा तय गरिएको छ।
बैठकमा प्रधानमन्त्री ओली र दाहाल दुबैले पार्टीका गतिविधि र सरकारका काम कारबाहीबारे स्थायी समिति सदस्यहरूलाई खुलेर आ–आफ्नो धारणा राख्न आग्रह गरेका थिए।
अध्यक्षद्वयबाट अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, समिा समस्या र समाधानबारे, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको पूर्णता, एमसीसी र बिविध गरि सातबुँदे एजेण्डा तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बिविधमा भने एक महिना अघि भएको रुकम घटना, नागरिकता विधेयक , सांसद र प्रदेशसभा सदस्यको बैठक भक्ता नलिने विषय रहेको नेकपाले जनाएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार अर्को बैठक असार १२ गते बस्नेछ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय