भारत-चीन सीमा क्षेत्र लद्दाखमा भएको भिडन्तमा परि मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ।
भारतीय सेनाले गएराति अबेर वक्तव्य जारि गर्दै चिनियाँ सैनिकसँग सोमबार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको बताएको हो।
‘भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५१६ जुनको रातमा भिडन्त भएको थियो’, वक्तव्यमा भनिएको छ, ‘भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीयसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ।’
यसअघि भारतले उक्त भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन जना भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो। योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ।
यता चीनले भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना के कति सैनिक हताहत भए भन्नेबारे अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।
यसैबीच भारतीय सैनिकले सीमा नाघेर 'चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।
यद्यपी आफ्नो पक्षमा भएको क्षतिबारे कुनै पुष्टि गरेको छैन। यता भारतीय सेनाले चिनियाँ सैनिक पनि हताहत भएको दाबी गर्दै आएका छन्।
भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको हो।
चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेश मन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरै लामो समयपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।
यी दुई देशबीच सन् १९६२ मा युद्व भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।
चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतले आरोप लगाउँदै आएको छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ।
सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। यसअघि गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा समेत हात हालाहाल भएको थियो।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय