हिमाल दैनिक
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर संसदले संविधान संशोधन प्रस्ताव पारित गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अब भूमि फिर्ता ल्याउन सरकारले गम्भीर कुटनीतिक पहल चाल्नु पर्नेमा जोड दिएको छ। संघीय संसदले नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूचि ३ को निशान छाप र त्यसमा रहेको नेपालको नक्सा संशोधन गर्न पेश भएको विधेयक संसदले पारित गर्ने क्रममा देखाएको बृहत्तर सहमतिलाई राष्ट्रियताको पक्षमा ऐतिहासिक एकता प्रकट भएको कांग्रेसको प्रतिक्रिया छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले साँझ एक विज्ञप्ति जारी गर्दै संविधान संशोधनको प्रस्ताव संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण भएको र यसका लागि सबै नेपालीलाई बधाई दिएका छन्। ‘नक्सा पारित हुनुसंगै भूमि फिर्ताको हाम्रो राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको छ। राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय एक्यवद्धतापछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ,’ शर्माले विज्ञप्तिमा भनेका छन.। साथै उनले नेपाली कांग्रेस उच्च स्तरीय कुटनैतिक पहल प्रभावकारी र परिणाममुखी ढंग गरी आफ्नो हक स्थापित गर्न पनि सरकारलाई आग्रह गरेको बताएका छन्। जब—जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ नेपाली कांग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पस्ट विचारका साथ दृढ ढंगले उभिंदै आएको छ र आगामी दिनमा पनि त्यसरी नै उभिने उनले बताएका छन्।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update