सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्काल आपत्ति प्रकट गरेका छन्।
नेपालको अतिक्रमित भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेटिएको नेपालको नयाँ नक्सालाई संविधानमा समावेश गर्न प्रस्तुत संविधान संशोधन प्रस्तावमाथिको छलफलमा भाग लिनेक्रममा नेता दाहालले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याएको भन्ने अभिव्यक्तिप्रति विकृत र असन्तुलित मानसिकताको उपज भएको आरोप थापाले लगाएका छन्।
अध्यक्ष थापाले ट्वीटरमार्फत आपत्ति जनाउँदै भनेका छन्, ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता हो।’
साथै उनले दाहाल र उनको विगतको राजनीतिक इतिहासको घटना र त्यसमा भएको मानवीय क्षतिलाई उल्लेख गर्दै भनेका छन्, ‘१७ हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो। नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।’
यसका अतिरिक्त थापाले थप्दै लेखेका छन्, ‘सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ। ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो। आश्चर्य लाग्छ। प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु।’
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय