हिमाल दैनिक
राष्ट्रिय महत्वका विषयमा पार्टीभित्र छलफल नगर्ने र राज्यका निकायमा मनपरी ढंगले नियुक्ति गर्ने सरकारी नेतृत्वको रवैयाप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीमबहादुर रावलले गम्भीर असहमति प्रकट गरेका छन्। विभिन्न राष्ट्रिय मुद्दामा छलफलका लागि पटक पटक बैठक बोलाउन माग गर्दा पनि पार्टी नेतृत्वले बैठक नबोलाई अघि बढ्नेदेखि पछिल्लो समय रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरु भट्टराईको नियुक्तिबारे संकट गर्दै नेता रावलले आफ्नो ट्वीटरबाट असन्तुष्टि व्यक्त गरेका हुन्। रावलले भनेका छन्, ‘राष्ट्रिय महत्वका विषयमा पार्टीमा बैठक र छलफल नहुने र सरकारी निकायका जिम्मेवारी देश, जनता र पार्टीका लागि कुनै योगदान नगरेका सामाजिक सञ्जालमा अश्लील र उछृंखल किसिमले कसैको तावेदारी र कसैको वेइज्जत गर्नेहरूलाई दिदैजाने कार्यले देश र पार्टीमाथि आउदै गरेको संकटको आभास हुनथालेको छ।’ https://twitter.com/BhimRawal179/status/1271636694798761985 सरकारी निकायमा नियुक्ति पाएका भट्टराईले सरकारी नेतृत्वको खाँतिरदारी गर्दै पार्टीभित्रैका असन्तुष्ट नेतादेखि अन्य व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जालमार्फत अशिष्ट र अमर्यादित भाषामा टिका टिप्पणी गरेको समाचार सार्वजनिक भएपछि रावलले सरकार र पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। बहुचर्चित र विवादस्पद विषयमा रावलसहितका थुप्रै असन्तुष्ट नेताहरुले नेकपा स्थायी समिति बैठक बोलाउन माग गर्दै आएपनि नेतृत्वले अनेक बहानामा बैठक टार्दै र आफूखुशी निर्णय लाद्दै गएको छ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update