हिमाल दैनिक
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन सम्बन्धी विधेयकबारे आधिकारिक निर्णय लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। केही दिनअघि बसेको पदाधिकारी बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको नक्सा समेटिएको नयाँ नक्सालाई समेटेर सरकारले जारी गरेको नक्सालाई संविधानको अनुसूचि ३ मा उल्लेखित निशाना छाप संशोधनका लागि संसदमा दर्ता गरेको संविधान संशोधनको विधेयकबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्ने सहमति भए अनुसार सभापति शेरबहादुर देउवाले जेठ १७ गते अपरान्ह १ बजेका लागि बैठक बोलाएका हुन्। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिबार जारी गरेको विज्ञप्ति अनुसार, उक्त बैठकको एजेण्डा संविधान संशोधन सम्बन्धी रहेको बताइएको छ। साथै उक्त बैठकमा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन जारी गरिएको छ। भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतको भूभाग नेपालको अखण्ड भूभाग भएको बताउँदै कांग्रेसले यसअघि नै सरकारसँग कुटनीतिक माध्यमबाट उक्त विषय टुंगो लगाउन र आफ्नै राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमितको रक्षा गर्न माग गर्दै आएको छ। सरकारले केही दिन अघि संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन सम्बन्धी विधेयकलाई बुधबारको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचि राखेको संसद सचिवालयले बुधबार एकाएक उक्त कार्यसूचि हटाएपछि त्यसको अपजस कांग्रेसमाथि थोपार्न खोजिएकोमा सभापति देउवाले आपत्ति प्रकट गरेका थिए। संसदीय अभ्यास र प्रक्रियामा संसदको कार्यसूचि तय गर्ने जिम्मेवारी सरकारको योजामा सभामुखले गर्ने गर्दछन्।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update