प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ।
पार्र्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको बिषय गम्भीर भएको भन्दै यस बिषयमा पार्टीभित्र बिस्तृत छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो।
पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले संविधान संशोधन प्रस्ताव सदनमा प्रस्ताव गरेको भन्दै अव केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनका बारेमा आधिकारीक धारणा तय हुने जानकारी दिए।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको राजनीतिक नक्सा सार्वजनिक गरेसँगै त्यस क्षेत्रबाट मानसरोवर जाने सडक निर्माण गरेपछि त्यसको कुटनीतिक समाधानमा नगई उक्त क्षेत्रसहितको नेपालको नक्सा सार्वजनिक गरेर भारतसँग द्वन्द्धमा उत्रिएको सरकारले नयाँ नक्सालाई वैधानिकता दिन संविधानको अनुसूचि ३ मा उल्लेखित नेपालको निशान छाप र नेपाल नक्सा संशोधन सम्बन्धी प्रस्ताव दर्ता गरेको छ।
सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावपछि विपक्षमा रहेको मधेस केन्द्रित दलले आफूहरुले पहिलेदेखि उठाउँदै आएको संविधानका अन्य धारामा पनि संशोधनको प्रस्तावलाई प्याकेजमा अघि बढाउन कांग्रेसको भूमिका खोजेका छन्।
त्यस्तै बैठकले नेपालको सीमा रक्षाका लागी गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली भूमि फिर्ताका लागि उच्चस्तरिय कुटनीतिक र राजनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताए।
त्यस्तै बैठकले कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन गम्भीर नभएको निष्कर्ष निकालेको छ। मुलुकभर कोरोना जाँचको दायरा बढाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता शर्माले बताए।
बैठकले भारत लगाएत अन्य देशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याई उपयुक्त स्वास्थ्य जाँचसहितको तयारी गर्न पनि सरकारको ध्यानाकर्षाण गराउने निर्णय गरेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय