हिमाल दैनिक
संविधान संशोधन प्याकेजमै गर्नेबारे जनता पार्टीद्वारा कांग्रेस सभापति देउवासँग वार्ता
deuja-janta-samajwadi-party
सरकारले नेपालको नयाँ नक्सालाई परिमार्जन गर्न संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि विपक्षी दलका नेताहरुबीच आन्तरिक छलफल सुरु भएको छ। विशेषगरी संविधानका केही प्रावधानहरुमा गम्भीर आपत्ति जनाउँदै सुरुदेखि नै संशोधनको माग गर्दै आएको मधेस केन्द्रीत दलका नेताहरुले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भेटवार्ता गरे। सभापति देउवावको निवास बुढानिलकण्ठमा शनिबार बिहान १० बजेतिर जनता समाजवादी पार्टी, नेपालका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, अनिल झा लगायतका नेताहरु गएर संविधान संशोधनको विषयमा छलफल गरेका थिए। छलफलका क्रममा जनता पार्टीका नेताहरुले सरकारले संविधानको अनुसूचि ३ मा उल्लेखित नेपालको निशान छाप र त्यसमा उल्लेखित नेपालको नक्साको सट्टा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा संशोधन गर्न संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आफूहरुले विगतदेखि माग गर्दै आएको संविधान संशोधन माग सम्बोधन गर्नेगरी प्याकेजमै संशोधन गर्न विपक्षी दलको तर्फबाट साझा धारणा बनाउन कांग्रेसको भूमिका खोजेका थिए। जवाफमा सभापति देउवाले जनता पार्टीका नेताहरुले राखेको धारणाबारे आफूले पार्टीभित्र छलफल गरेपछि मात्रै आफ्नो दलको धारणा दिन सक्ने बताएको स्रोतले बतायो। यसैबीच सभापति देउवाले संविधान संशोधन प्रस्ताव लगायत समसामयिक विषयमा छलफल गर्न आइतबार अपरान्ह पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update