सत्तारुड नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को २० जना नेताले स्थायी कमिटी बैठक डाक्न करिब एक महिना अघिदेखि माग गर्दै आएपनि पार्टी नेतृत्वले बैठकको म्याद अनेक बहानामा धकेल्दा थप अनिश्चित भएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले समेत पार्टीको स्थायी कमिटी बैठकको तिथि, मिति गुजार्ने क्रममा सरकारको नीति तथा कार्यक्रमपछि मात्रै गर्ने निर्णय गरेको हो।
बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल गर्ने सहमति गरेको जानकारी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
वैशाखको पहिलो साता सरकारले पार्टीभित्र कुनै परामर्श नगरी विवादस्पद अध्यादेशहरु जारी गरेर राजनीतिक र संवैधानिक द्वन्द्ध निम्त्याउनुका साथै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट देश र जनतालाई जोगाउने विषयमा पनि गम्भीर हुन नसकेपछि पार्टीका २० स्थायी कमिटी सदस्यहरुले बैटक बोलाउन लिखित माग गरेका थिए।
त्यसको बाबजूद पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाध्यतावस वैशाख २५ गते र ३० गते बस्ने भनि मिति तय गरेर पनि अन्तिम समयमा स्थगित गर्दा स्थायी समिति बैठक बस्न सकिरहेको छैन।
आजको सचिवालय बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका बारेमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले बताए।
शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बताए।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय