हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय पक्षबाट नेपाली भूभागमाथिको अतिक्रमण र नेपाल सरकारको अकर्मण्यताका कारण सीमा विवादको समाधान खोज्न ढिलाई भइरहेको भन्दै आपत्ति प्रकट गरेका छन्। नेपालको अखण्ड भूभाव लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतले एकतर्फी रुपमा मानसरोवर जाने सडक निर्माण गरेको समाचारप्रति पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले उक्त भूभाग नेपालको भएको बताएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै देउवाले सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको समयमा लिपुलेकलाई दुई देशले व्यापारिक नाका बनाउनेबारे भएको सहमतिप्रति तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेष्ट नोट’ पठाएर नेपालको प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको बताएका छन्। यसैगरी गत नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको नेपाली भूभाग समाविष्ट गरेर प्रकाशित गरेको नक्साप्रति आफ्नो दलले कडा प्रतिक्रिया दिएको र यसबारे सर्वदलीय बैठकमा प्रधानमन्त्रीलाई त्यस क्षेत्रबाट भारतीय सेना फिर्ता गराउने कार्यमा आफ्नो साथ र समर्थन रहेको स्मरण गरेका छन्। ‘प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा “भारतीय सेना रहेको कालापानी लगायतका भूमी नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ” प्रष्ट धारणा साथ “त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने” घोषणा गरेको थियो,’ देउवाले भनेका छन्। लिपुलेकबारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेकहुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा’ माग गर्दै ‘उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न,’ नेपाली कांग्रेसले सरकारको दायित्व पुनः स्मरण गराएको देउवाले बताएका छन्। यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर बिषयमा केवल वक्तव्य मात्रै जारी गरेको घटनाप्रति प्रतिपक्षी दलको नेताका हैसियतले देउवाले भनेका छन्, ‘म सरकारलाई कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपील गर्दछु।’ नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद भएको देउवालको भनाई छ। ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ। नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहनेछ,’ उनले भनेका छन।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update