हचुवाको भरमा कुत्सित मनसायले अध्यादेश ल्याएर कोरोना कहरको समयमा पनि राजनीतिक द्वन्द्ध चर्काएर विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेृत्वको नेकपाको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको दाबी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन सरकारले जारी गरेको लकडाउन आदेशको ३६औं दिन बुधबार कांग्रेस मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १९ बुँदे निर्णय गर्दै यस्तो दाबी गरेको हो।
गत मंसिर महिनादेखि यताको समयमा पटक पटक अनेक आन्तरिक विवाद र किचलोबाट गुज्रिँदै आएको कांग्रेसले विगत ६ महिनाको अवधिमा सम्भवत् पहिलो पल्ट आज पार्टीको बैठकमा आपसी विवाद विना नै देश र जनताको समस्याकाबारेमा गम्भीर बहस गरेको एक नेताले बताए।
पार्टी बैठक पश्चात जारी विज्ञप्ति अनुसार, वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागि परेको आरोप कांग्रेसले लगाएको छ।
‘एकपछि अर्को गरी भ्रष्टाचारका कार्यहरु भइरहेका छन्। मुलुक कोभिड १९ को गम्भीर जोखिममा रहेका बेला मेडिकल सामाग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय हो। पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु, त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरी सम्म दर्ता गर्न इन्कार गर्नु, सरकारको वदनियत पुष्टि गर्ने घटना हुन्। सामाजिक सन्जालमा सरकार वा सरकारी पदाधिकारीको आलोचना गरेका आधारमा मानिसलाई पक्राउ गर्ने, मुद्दा चलाउने, संचार माध्यममा बोलेको, अन्तरवार्ता लिएको कारणले स्पष्टीकरण सोध्ने, कारवाही चलाउने जस्ता घटनाले वर्तमान सरकार संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता लगायत मौलिक हक अधिकारको खिल्ली उडाउँदै निरंकुशता तर्फ अग्रसर भएको प्रष्ट छ। सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावना विरोधी कार्य गर्ने अवसरका रुपमा प्रयोग गरिरहेको छ। सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचन मार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ। तसर्थ नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ,’ निर्णयमा भनिएको छ।
साथै कोरोना भाइरस संक्रमण विरुद्ध सरकारले खरिद गरेको मेडिकल सामाग्री खरिद प्रकरणमा भएको अनियमितता तत्काल छानविन गरी दोषीमाथि कानूनी कारबाहीको माग पनि कांग्रेसले गरेको छ।
कांग्रेसले हाल सरकारले खरिद गरि ल्याएको कोरोना भाइरस परिक्षण किटको गुणस्तरमा प्रश्न उठेको कारण तत्काल उक्त किटको सट्टा नयाँ किट ल्याएर विश्वसनीय र भरपर्दो परिक्षण लगायतका सुरक्षा सामाग्री व्यवस्था गर्न पनि माग गरेको छ।
यसैगरी सरकारी योजनामा जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण पं्रकरणमा संलग्न दोषीमाथि पनि कारबाहीको माग कांग्रेसले गरेको छ। यादवले आफूलाई एक हप्ता अघि प्रधानमन्त्रीको योजना र निर्देशनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरी पार्टी विभाजनका लागि काठमाडौं ल्याएको आरोप लगाएर किटानी जाहेरी दिन खोज्दा प्रहरीले बुझ्न मानिरहेको छैन।
साथै कांग्रेसले वर्तमान परिस्थितिमा सबै विषयमा गम्भीर बसहका लागि तत्काल संसद अधिवेशन बोलाउन पनि माग गर्नुका साथै सांसद विकास कोष सम्बन्धी नीति खारेज गरी कोरोना संक्रमण विरुद्धको अभियानमा लगानी बढाउन पनि माग गरेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय