कोरोना संक्रमणको महामारीलाई पनि माथ गर्दै पछिल्लो समय उत्कर्समा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक विना निश्कर्ष टुंगिएको छ।
विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कुनै राय सल्लाह नै नगरी मधेस केन्द्रीत दल विभाजनको उद्देश्यले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशदेखि संवैधानिक परिषद ऐनमा गरिएको असफल संशोधनको प्रयाससँगै सांसद अपहरणको प्रकरणले नेकपाभित्र उत्पन्न शक्ति संर्घष अन्यौलताबीच बुधबार बसेको सचिवाल बैठकले कुनै ठोस निर्णय लिन सकेन।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ डाकिएको सचिवालय बैठकमा नेताहरुबीच तीनघण्टा लामो छलफल चलेपनि कुनै पनि विषयमा निर्णय हुन नसकेको हो।
बैठकपछि साँझ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिँदै पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढिकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको पार्टी स्थायी कमिटि बैठक र यससँग जोडिएका विषयहरुको बारेमा गम्भीर छलफल भएको बताए।
साथै उनले छलफल जारी रहेको जानकारी दिँदै यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकाय प्रक्रियाहरु पनि अगाडि बढाउँदै यहि २० गते पुनः सचिवालयको बैठक बस्ने र उक्त बैठकले अहिलेको आवश्यकतासँग मेल खाने र पार्टीलाई एकताबद्ध बनाउँदै जनताले दिएको जनादेश अनुसार आवश्यक निर्णय लिने र स्थायी समिति बैठकबारे पनि निर्णय लिने बताए।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारले कोरोना कहरबाट प्रताडित जनतालाई राहत र भरोसा दिनु पर्ने बेलामा संविधान र जनभावना विपरित विवादस्पद अध्यादेश जारी गर्ने र मधेसवादी दल विभाजनको फोहोरी राजनीतिमा संलग्न भएर पार्टी र सरकारलाई बदनाम गराएको आरोपमा असन्तुष्ट पक्षले उनीविरुद्ध घेराबन्दीको प्रयास गरेका थिए।
यहिबीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले ओलीलाई कोपभाजन गर्ने रणनीति र योजना बनाउँदै स्थायी कमिति बैठक बोलाउन मागसँगै आवश्यक परे संसदीय दलमा अल्पमतमा पारेर सत्ताच्यूत गर्ने खेलमा लागेको आरोप लगाउँदे ओली पक्षले पनि आन्तरिक रणनीति र गृहकार्यमा लागि परेका थिए।
यसक्रममा दुबै पक्षले संसदीय दलभित्र हस्ताक्षर संकलन गरी आफूभित्र बहुमत रहेको सिद्ध गर्ने प्रयाससँग एक अर्काको अस्थित्व समाप्त गर्ने रणनीति चलिरहेका बेला सचिवालय बैठकले निकास दिन सक्ने आशा पार्टीपंक्ति भित्र भएपनि आजको बैठकले कुनै निकास दिएन।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय