हिमाल दैनिक
कोरोना कहरको महामारीकै बिचमा औचित्यहिन र विवादस्पद अध्यादेश जारी गरेर सरकार र पार्टीलाई बदनाम गराएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता, कार्यकर्ताले पार्टी तथा सरकारको नेतृत्वमाथि नैतिकताको गम्भीर प्रश्न उठाउन थालेका छन्। पाँच दिनअघि सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद ऐन सम्बन्धी अध्यादेश ल्याएर राजनीतिक विवाद चर्काएका प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी दबाब थग्न नसकी शुक्रबार दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै उनीमाथि नैतिकताको प्रश्न उठाएका हुन्। यसरी नैतिकताको प्रश्न उठाउनेमा चर्चित नेतृ रामकुमारी झाँक्रीले विगतको उदाहरणहरुसहित प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि धर्मसंकट उत्पन्न गराइदिएकी छिन्। उनले आफ्नो फेसबुकमार्फत भनेकी छिन्, राजनीतिमा नैतिकता हुन्छ भनेर शिक्षा दिने क. माधव नेपाल र अनाहकमा ग़लत अर्थ लगाएर राजिनामा दिन बाध्य पारिएका क. शेरबहादुर तामाङले नैतिकता आफूमामात्र सिमित गर्नु भएछ। अन्त नैतिकता कतै देखिन्छ?’ सरकारले अध्यादेश फिर्ता लिएको समाचार सार्वजनिक भएलगत्तै सांसद झाँक्रीले फेसबुकमार्फत भनेकी थिइन्, अध्यादेश फिर्ता भयो रे१ के योसंगै सम्पूर्ण राजनीतिक र नैतिक प्रश्न सकिन्छ? मलाई लाग्छ सकिदैन। अब के हुन्छ?’ गत निर्वाचन लगत्तै गठन भएको सरकारमा कानूनमन्त्री रहेका शेरबहादुर तामाङले चिकित्सा शिक्षा विधेयकको विषयमा चलेको विवादकाबीच बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको विषयमा गरेका टिप्पणीबारे चौतर्फी आलोचना भएपछि उनलाई पदबाट राजीनामा दिन बाध्य पारिएको थियो। यसअघि पहिलो संविधान सभा सदस्य निर्वाचनमा तत्कालिन नेकपा एमाले नराम्रोसँग पराजित भएपछि तत्कालिन महासचिवको हैसियतले माधवकुमार नेपालले पनि पार्टी महासचिव पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update