हिमाल दैनिक
ओलीको आडमा सांसद अपहरणको प्रयास गर्ने खनाल, बस्नेत र श्रेष्ठमाथि छानविन र कारबाही हुनुपर्छः भट्टराई
himal-dainik
नवगठित जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको ‘सांसदको असफल अपहरण’ प्रयास गम्भीर अपराध भएको दाबी गर्दै उक्त विषयमा छानविन गरी कानून बमोजिम कारबाहीको माग गरेका छन्। समय र औचित्यताको आधारविनै प्रधानमन्त्री ओलीले गत सोमबार जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धी अध्यादेशको चौतर्फ विरोध भएपछि बिहिबारको मन्त्रिपरिषदबाट फिर्ता लिने निर्णय गरेसँगै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो माग गरेका हुन्। ट्वीटर मार्फत नेता भट्टराईले आफ्नो पार्टी समाजवादी पार्टी नेपाल विभाजनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेर संसदीय दल फुटाउने असफल प्रयासमा प्रधानमन्त्री ओलीको संलग्नता रहेको तर्फ लक्षित गर्दै उक्त अध्यादेशको गोली स्वयं ओलीतिरै फर्किएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैँतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेको @kpsharmaoli ले अध्यादेश फिता लिएछन्। यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन÷कारबाही हुनैपर्छ।’ https://twitter.com/brb1954/status/1253585808646381568 साथै नेता भट्टराईले प्रधानमन्त्री ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने बताउँदै सबैलाई सावधान रहन पनि आग्रह गरेका छन्। गत बुधबार साँझ एकाएक नाटकीय ढंगमा समाजवादी पार्टी नेपालको संसदीय दल विभाजनको योजना सफल पार्न प्रधानमन्त्री ओलीको निर्देशन अनुसार पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले समाजवादीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरणको शैलीमा राजधानीको एक होटलमा लगेर राखेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओली र उक्त क्रियाकलापमा संलग्न व्यक्तिबारे समाजमा चौतर्फी आलोचना भएको थियो। सरकारको योजनामा आफ्नो पार्टी विभाजन गराउन लागेको जानकारी पाएका समाजवादीका नेताहरुले बुधबार रातारात नै अर्को मधेसवादी दल राजपासँग पार्टी एकता गर्दै बिहिबार निर्वाचन आयोगमा निवेदन दिएपछि उक्त योजना विफल भएको थियो।  
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update