हिमाल दैनिक
नियुक्तिको आश देखाएर समाजवादीका सांसदको अपहरण गर्ने प्रयास, लोकतन्त्रको उपहासः भट्टराई
a
समाजावादी पार्टी, नेपाल फुटाउने असफल प्रयासमा सरकारी नेतृत्वले पार्टीका दुई सांसदसहित नेपाल प्रहरीका पूर्व महानिरीक्षकको प्रयोग गरी सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप पूर्व प्रधानमन्त्री एवं नेता बाबुराम भट्टराई र उनका सहयोगीले लगाएका छन्। बुधबार साँझ समाजवादी पार्टीका सांसद यादवलाई जनकपुरबाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो गाडीमा हालेर काठमाडौं ल्याई समाजवादीका सांसदहरुलाई सुरक्षासहित राखिएका मेरियट होटलमा राखेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार थप विवादको घेरामा तानिएको छ। https://twitter.com/brb1954/status/1253208112330207232 होटलबाट उम्किएर नेता भट्टराईका सहयोगी विश्वदिप पाण्डेलाई भेट्न पुगेका सांसद यादवले आफूलाई पूर्व प्रहरी प्रमुख खनालले फोन गरी बोलाएर गाडीमा हालेको र उक्त गाडीमा नेकपाका सांसद महेश बस्नेत र तनहुँका सांसद किसान श्रेष्ठसँगै काठमाडौं ल्याएर होटलमा राखेको बताएका थिए। यसरी गाडीमा ल्याउने क्रममा आफूलाई महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी कुरा गर्न लगाएको र कुरा गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई मन्त्री पनि बनाइदिने र सबै कुरा व्यवस्था गरिदिन आश्वासन दिएपनि आफू होटलबाट बिहिबार बिहान सुरक्षाकर्मीलाई झुक्याएर भागेको जानकारी दिएको पाण्डेले बताएका छन्। https://twitter.com/BishwadeepP/status/1253157490277191686 यसरी आफ्नो दलको सांसदलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएर पार्टी फुटाउने योजनामा सरकारी नेतृत्वले पूर्व प्रहरी प्रमुखको प्रयोग गरेको विषयमा नेता भट्टराईले ट्वीटरमार्फत आपत्ति जनाएका छन्। दोस्रो जनआन्दोलनको सफलता पश्चात पुर्नस्थापना भएको लोकतन्त्र स्थापना भएकै दिन वैशाख ११ गेत नेता भट्टराईले भनेका छन्, ‘यही हो लोकतन्त्र दिवसको उपहार, कणहरु? सरकारको आलोचना गर्ने पूर्व सचिव भीम उपाध्याय गिरफ्तार! अनि शान्ति सुरक्षा कायम गर्ने र अपहरण गर्नेलाई पक्रने तालिम पाएका एक एक्स आइजीपीलाई समाजवादी सांसदलाई अपहरण गर्ने जिम्मा र संवैधानिक आयोगमा नियुक्तिको आश्वासन!’ सांसद यादवलाई काठमाडौं ल्याउने कार्यमा पूर्व आइजी खनालको प्रयोगबारे कतिपयले यसलाई प्रहरी संगठनमाथि नै प्रश्न उठाउनेदेखि कतिपयले उनलाई संवैधानिक आयोगमा रिक्त रहेको पदमा नियुक्तिको आश्वासनले काम गरेको हुन सक्ने आशंका गरिरहेका छन्। तर, खनालले भने सांसद यादवको अपहरण आफूले नगरेको दाबी गर्दै आफूलाई चोख्याउने प्रयास गरेका छन्। सांसद यादवले आफू पनि काठमाडौं आउन चाहेको फोनमार्फत बताएपछि लकडाउनको समयमा गाउँ फर्कन चाहने यात्रुहरुको व्यवस्थापनमा खटिएका सांसद बस्नेत र श्रेष्ठसहित आफू जनकपुरमा पुगेर फर्किँदा यादवलाई सँगै लिएर आएपनि अपहरण नगरेको जानकारी समाचारमाध्यममा दिएका छन्। जब कि लकडाउनको समयमा यात्रुहरुको व्यवस्थापन गर्ने जिम्मेवारी राज्यका निकायको हो, न कि सांसद वा पूर्व प्रहरी प्रमुखको।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update