नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब पार्टी नफुट्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन्।
बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले सरकारले पार्टी फुटाउन लक्षित गरेर ल्याएको अध्यादेशविरुद्ध आफूहरु एकजुट भएर देखाइदिएको बताउँदै पार्टी नफुट्ने ठोकुवा गरे । राजपा र समाजवादी पार्टीलाई फुटाउने तयारी भएको समाचार आएपछि एकता प्रक्रियालाई टुङ्ग्याइदिनुपर्छ भनेर हिजो राति बसेर एकता प्रक्रियालाई टुङ्याएको उनले बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्चिको रक्षाका लागि राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यसबाट जोगाउन आफूहरू सफल भएको दाबी गरे। उनले भने, ‘समाजवादी पार्टी र राजपा भनेको एकीकृत भइरहेको अवस्थामा एकताबद्ध भएर शक्ति निर्माण गर्नुपर्ने अवस्थामा कहाँ फुटाउने कुरा गरेको प्रधानमन्त्रीले, यो सरकारले अनि हामी चाहिं त्यो एकता प्रकृयालाई टुङ्ग्याइदिनुपर्छ भनेर हिजो राति बसेर दुई वटै पार्टीका उपलब्ध नेताहरु बसेर एकता प्रकृयालाई टुङ्ग्याएका छौं। राजपा र समाजवादी पार्टी, जनता समावजादी पार्टी नेपालको नाउँमा हामी एकिकृत भएका छौं। र त्यो जानकारी हामी निर्वाचन आयोगलाई दिन आएका छौं,’ उनले सरकारले नै लोकतन्त्रमाथि आक्रमण गरेको बताए।
https://www.facebook.com/himaldainik/videos/171815267351242/?t=1
लोकतन्त्र विरोधि, तानासाही र एकदलीय तानासाहलाई निरंकुश लादने गरी विधेयक ल्याइएको र त्यसलाई तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी समेत दिए।उनले देशमा समृद्धि, सुशासन, अधिकार र पहिचान चाहने हिमाल पहाड तराई र मधेसका जनता मिलेर राष्ट्रिय शक्तिको निर्माण गर्ने अभियानमा लागेको र त्यसको अभियान सुरु भइसकेको बताए।
महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको उनको भनाई छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय