राष्ट्रिय जनता पार्टी नेपालसँग एकता गरिनसक्दै उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी, नेपाल फुटको संघारमा पुगेको छ।
समाजवादी पार्टीकी नेतृ रेणु यादवको काठमाडौं शान्तिनगरस्थित आफ्नो घरमा समाजवादीका आठ सांसदको बैठक गरी नयाँ पार्टी दर्ता गर्ने निर्णय लिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐनमा दल विभाजनका लागि खुकुलो प्रावधान राखिदिएपछि समाजवादीका ८ जनाले नयाँ पार्टी गठनको निर्णय गरेका थिए।
रेणु यादवलाई फकाउन पुगेका नेताद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईले गरेको प्रयासका बाबजूद असन्तुष्ट सांसदहरु दल विभाजनको निर्णयबाट पछि नहट्ने स्थिति देखेपछि उपेन्द्र र भट्टराईसहितका नेताहरुले तत्काल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग बुधबार मध्यरातमा बैठक गरी असन्तुष्ट समूहको योजना विफल बनाउने योजनासहित पार्टी एकताको घोषणा गरेका थिए।
बुधबार मध्यरातमा समाजवादी पार्टी र राजपा नेपालबीच एकता सहमति भइसकेको छ। उनीहरुले नयाँ पार्टीको नाम समाजवादी जनता पार्टी राखिसकेका छन्।
यसका बाबजूद असन्तुष्ट ८ सांसदहरुले आफूह भोलि बिहिबार बिहान ८ बजे सभामुख अग्निप्रसाद सापकोटालाई नयाँ दल गठन गरेको जानकारी दिने तयारी गरेको एक सांसदले जानकारी दिए।
समाजवादीबाट अलग्गिएका सांसदहरुमा रेणु यादव, मोहम्मद ईश्तियाक राई, सुरेन्द्र यादव, बिमल श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ रहेको एक सांसदले बताएका छन्। नयाँ दल खोल्ने निर्णयमा पुगेका पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइन नेकपा नेतृत्वको सरकारमा रहँदैदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहेका थिए।
गत पुस पहिलो साता सरकारबाट बाहिरिने क्रममा उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई गम्भीर आरोप लगाउँदै सरकारबाट हटेपनि नेकपा नेतृत्वबाट सरकारमा बसिरहन सन्देश पाएका इस्तियाकले प्रम ओलीलाई धन्यवाद दिएर राजीनामा दिएका थिए।
पार्टी अध्यक्षको कार्यशैलीलाई लिएर उनले निरन्तर फरक मत राखिरहेका थिए। देशमा भएको आमनिर्वाचन भन्दा अघि नयाँ शक्तिबाट समाजवादीमा प्रवेश गरेका उनी बाँकेबाट प्रतिनिधिसभामा विजयी भएका थिए।
अहिले उनी रेणु यादवको नेतृत्वमा आठजना सांसदसहित नयाँ पार्टी खोल्न पुगेका हुन्। उपेन्द्र यादवका कुनै बेलाका विश्वासपात्रमध्ये एक सांसद रेणु यादवको नेतृत्वमा रहेका सांसदहरुले दिएको निवेदनलाई सभामुख सापकोटाले रुजु गरेमा नयाँ पार्टी बन्नेछ।
तर, हतारमा राजपासँग एकता गर्न पुगेका नेताहरुले पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगमा दिनु पर्नेछ। यसरी सभामुख र निर्वाचन आयोगमा नयाँ दल दर्ता र पार्टी एकीकरणको सूचना लिएर जाने दुई समूहबीच कुन समूहले बैधानिकता पाउने हो भन्ने राजनीतिक चासोसँगै कानूनी संकट उत्पन्न भएको छ।
समाजवादीको असन्तुष्ट खेमामा बाँकेबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई, रेणु यादव, पर्साका सांसद प्रदीप यादव र विमल श्रीवास्तव पनि रहेको स्रोतले बताएको छ।
त्यसैगरी कैलालीकी समानुपातिक सांसद कलुदेवी विश्वकर्मा, झापाकी रेणुका गुरुङले पनि समाजवादीलाई बाइबाइ गरेर नयाँ दल गठनमा सहभागी भएको स्रोतले बताएको छ।
संसदीय दलका सचेतक उमाशंकर अरगरिया पनि समाजवादीबाट बाहिरिएको जानकारी आएको छ।
मुस्लिम कोटाबाट निर्वाचित अर्की सांसद रोही नाज कुनै बेला अध्यक्ष यादवनिकट मानिन्थिन्। तर, अहिले उनी पनि ढुलमुलको अवस्थामा रहेको स्रोतले जनाएको छ। उनीहरुले यसअघि नै समाजवादी छाडेर नयाँ पार्टी खोल्ने कोशिश गरे पनि संसदीय दल र पार्टी केन्द्रीय समिति दुबैमा ४० प्रतिशत पुग्नुपर्ने बाध्यताले अफ्ठेरोमा परेका थिए।
तर, प्रधानमन्त्री ओलीले सोमबार राजनीतिक दल विभाजन सम्बन्धी प्रावधानमा हेरफेर गरी संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुगेमा पार्टी फुटाउन सकिने खुकुलो प्रावधानसहितको अध्यादेश जारी गराएसँगै दल विभाजन र टुटफुटको राजनीति सुरु गर्न सहज भएको हो।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय