हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मधेस केन्द्रीत दल विभाजनका लागि जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको तेस्रो दिनमै मधेसवादी दुई दलबीच एकीकरण भएको छ। प्रधानमन्त्री ओलीकै अग्रसरतामा समाजवादी पार्टी, नेपालको संसदीय दल विभाजन गर्ने योजना अनुसार नेतृ रेणु यादव लगायतका सांसदलाई उक्साएको आरोप लगाएको समाजवादी पार्टीका नेताहरुले बुधबार राती हतार हतार राष्ट्रिय जनता पार्टी नेपालसँग वार्ता गरी पार्टी एकीकरण गरेका छन्। साँझ ८ बजेतिर पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले पूर्व राज्यमन्त्री सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको निर्देशनमा जनकपुरबाट पार्टी विभाजन गराउन अपहरणको शैलीमा सुरक्षाकर्मीले काठमाडौं ल्याएको आरोप लगाएका थिए। त्यसलगत्तै नेता भट्टराई र अर्का नेता उपेन्द्र यादवसहितका केही नेता नेतृ रेणु यादवको निवास शान्तिनगरमा पुगेर उनलाई फकाउने प्रयास गरेका थिए। रेणु यादवको अगुवाईमा ओलीको योजना मुताविक १० जना सांसदहरुले नयाँ दल दर्ता गर्ने जानकारी पाएका नेताहरुले त्यस लगत्तै साँझ साढे ९ बजेतिर समाजवादी पार्टी र राजपाका शीर्ष नेताहरुको आकस्मिक बैठक नेता भट्टराई निवास सानेपामा बसेको थियो। उक्त बैठकमा दुई दलका नेताहरुबीच भएको छलफल पश्चात राजपा र समाजवादी पार्टीबीच तत्काल पार्टी एकीकरण गर्ने चारबुँदे सहमित पत्रमा हस्ताक्षर भएको थियो। विगत दुई वर्षदेखि दुई दलबीच पटक पटक एकीकरणको वार्ता अन्तिम अन्तिम चरणमा पुगेर पनि टुंगोमा पुग्न नसकेका यी दुई दलका नेताहरु प्रधानमन्त्री ओलीले पार्टी विभाजनको लक्ष्य लिएर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर आफूहरुमाथि आक्रमण गर्न लागेको पत्तो पाएपछि बाध्य भएर हतारमा पार्टी एकीकरण गरेका छन्। सोमबार सत्तारुढ नेकपाभित्रै कुनै छलफल र परामर्श नै नगरी राजनीतिक दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कार्यसमिति सदस्यमध्ये एकतर्फबाट ४० प्रतिशत सदस्यको हस्ताक्षर भएमा नयाँ दल गठन हुन सक्ने प्रावधान सहितको अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओलीको सत्ता र विपक्षी दलबाटै चर्को आलोचना भएको थियो। पार्टीकै शीर्ष नेताहरुले दल विभाजनको प्रावधान राखेको विषयले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएपछि प्रधानमन्त्री ओलीले उक्त अध्यादेश आफ्नो पार्टीको विषयमा नभएर मधेस केन्द्रीत दललाई लक्षित गरि ल्याइएको जानकारी दिएका थिए। यसरी राजपा र समाजवादी पार्टीबीच भएको एकताको निर्णयले तत्कालका लागि समाजवादी पार्टी विभाजन गर्ने ओलीको योजना विफल भएको संकेत दिएका छन्। तथापि बिहिबार निर्वाचन आयोगमा पार्टी एकीकरण भएको जानकारीलाई बैध्यता दिने वा सरकारको योजना र निर्देशन मुताविक असन्तुष्ट पक्षको पार्टी विभाजनलाई वैधानिकता दिने भन्ने अधिकार निर्वाचन आयोगमा रहन सक्ने छ। बुधबार मध्यरातमा भएको दुई दलबीचको एकीकरण पश्चात नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ भने झण्डा समाजवादी पार्टीकै र चुनाव चिन्ह राजपाको छाता रहने भएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update