समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्रमा सरकारले जारी गरेको दुई विवादित अध्यादेशले मुलुकमा अस्थिरता आउने बताएका छन्।
यादवले मंगलबार बिज्ञप्ति मार्फत देशमा नेपाली जनता कोरोनाबाट आक्रान्त भईराखेको बेलामा राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधन गर्नु दुखद रहेको बताएका छन्। उनले सरकारले चालेको यो कदमले लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने बतेका छन्।
उनले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त – सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्ने बताए । उनले दुवै अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध रहेको बताए।
यादवले यस्तो अध्यादेशलाई तुरुन्त फिर्ता लिन सरकारसंग माग गरेका छन् । उनले कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैर–लोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अनुरोध गरेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय