हिमाल दैनिक
नेपालको सबैभन्दा पुरानो राजनीतिक दलका रुपमा परिचित नेपाली कांग्रेसका केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्तामध्ये विरलैलाई थाहा होला कि आफ्नो पार्टीको स्थापना कहिले र कहाँ भएको थियो। विश्व राजनीतिक इतिहासको रंगमञ्चमा एउटै दलको नेतृत्वमा तीन वटा शासन व्यवस्थालाई परास्त गरेर नयाँ शासन व्यवस्थाको स्थापना गर्न सफल इतिहास भएको कुनै पार्टी छ भने त्यो नेपालकै राजनीतिक दल नेपाली कांग्रेस हो। जसले एक सय चार वर्षसम्म चलेको राणा शासनदेखि ३० वर्षे एकदलीय निरंकुश पञ्चायती व्यवस्था र अन्त्यमा २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रकै अत्यका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भयो। तर, यहि पार्टीका नेता कार्यकर्ताहरुलाई अहिले आफ्नै पार्टीको इतिहासबारे जानकारी नहुनु अथवा भएर पनि त्यसको कुनै चियोचर्चो सम्म नहुनु आफैँमा आश्चर्यको विषय हो। इतिहासका पानाहरु पल्टाउने हो भने अहिलेको नेपाली कांग्रेस पार्टीको नामाकरण आजभन्दा ७० वर्ष पहिले आजकै दिन २००६ साल चैत २७ अर्थात सन् १९५० अप्रिल ९ तारिकमा भएको थियो। भारतको कोलकातास्थित टाइगर सिनेमा हलमा भएको चौथो महाधिवेशनमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच पार्टी एकीकरण गर्ने सहमति पश्चात नै नेपाली कांग्रेसको जन्म भएको थियो। जसको सभापतिमा मातृकाप्रसाद कोइराला निर्वाचित भए भने महामन्त्रीमा महेन्द्रविक्रम शाह, कोषाध्यक्षमा सुवर्णशम्शेर राणा, सहकोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई रहेका थिए। सात जना केन्द्रीय सदस्यमा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, महावीरशम्शेर राणा, रुद्रप्रसाद गिरि, दयाशंकर मुन्सी र कुँवर कल्लो सिंह रहेका थिए। त्यहि नेपाली कांग्रेस पार्टीले आफ्नो स्थापना भएको एक वर्ष पुग्दा नपुग्दै अर्थात २००७ साल फागुन ७ गते नेपालबाट १०४ वर्ष पुरानो जहानिया राणा शासनको जरोकिलो सदाका लागि उखेल्न सफल भयो। त्यस अगाडिको चर्चा गर्ने हो भने, नेपाली कांग्रेस पार्टीको प्रारम्भ २००३ साल आश्विन ३१ अर्थात सन् १९४६ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसका नाममा वनारसबाट भएको थियो। जसको सभापतिमा देवीप्रसाद सापकोटा, उपसभापतिमा बालचन्द्र शर्मा, प्रधानमन्त्री (त्यतिबेला महामन्त्रीलाई भनिएको पद)मा कृष्णप्रसाद उपाध्याय भट्टराई र गोपालप्रसाद उपाध्याय भट्टराई रहेका थिए। तर, देवीप्रसाद सापकोटालाई कांग्रेसले अहिलेसम्म सम्झिएको छैन। अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको चार महिन लगत्तै भारतमा रहेका नेपाली युवाहरुको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भयो। जुन भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरायो। उक्त भेलाले राणा शासन विरुद्ध लागेको आरोपमा जेलजीवन विताइरहेका प्रजा परिषदका नेता टंकप्रसाद आचार्यलाई सम्मानस्वरुप सभापतिमा चयन गर्यो भने बी.पी. कोइरालालाई कार्यबाहक सभापति बनायो। उक्त कार्यसमितिमा मन्त्रीका रुपमा बालचन्द्र शर्मा, संगठन विभाग प्रमुखमा डिल्लीरमण रेग्मी, संगठन मन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचार संगठन सदस्यमा देवव्रत परियार र सदस्यहरुमा गोपालप्रसाद उपाध्याय भट्टराई, लाक्पाछिरिङ शेर्पा, रुपद्रप्रसाद गिरि र कार्यालय सचिवमा ईश्वर बराल थिए। उता राणा शासकबाट प्रताडित हुन पुगेका असन्तुष्ट नेता सुवर्णशम्शेर राणाको सक्रियतामा २००५ साल साउन १ गते कोलकातामा एउटा बृहत भेलाको आयोजना भयो। उक्त भेलाको निर्णय वमोजिम सोही वर्षको पुस १५ गते कोलकाताकै टाइगर हलमा आयोजिम प्रथम महाधिवेशनले नेपाल प्रजातन्त्र कांग्रेसको गठन गर्यो। जसको सभापतिमा महेन्द्रविक्रम शाह, प्रधानमन्त्रीमा सूर्यप्रसाद उपाध्याय, सहायक प्रधानमन्त्रीमा प्रेमबहादुर कंसाकार, कोषाध्यक्षमा राजेश्वरीप्रसाद उपाध्याय र सीबी सिंह र मन्त्रीगणमा बाबुराजा मोक्तान र सुन्दरराज चालिसे रहेका थिए। सदस्यहरुमा सुवर्णशम्शेर राणा, महानन्द सापकोटा, पूरण सिंह, लक्ष्मीदत्त उपाध्याय र भीमभक्तसिंह बस्नेत रहेका थिए। त्यसको एक वर्षपछि ००६ साल चैत २७ देखि २९ गतेसम्म चलेको नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त महाधिवेशनले दुई पार्टीबीचको एकता गरी नेपाली कांग्रेसको जन्म भयो। जसले नेपालको प्रजातान्त्रिक इतिहासमा अतुलनीय योगदान पुर्यायो। त्यो इतिहास बोकेको पार्टीका नेता र कार्यकर्ताहरुको स्मरणशक्ति क्षण भएको कारण हो वा स्थापना दिवसबारे अन्यौलताले आजको दिन उनीहरुका लागि विशेष महत्वको दिन हो भन्ने सम्म हेक्का भएन। यदि विश्वका अन्य मुलुकमा हुन्थ्यो भने कुनै पनि व्यक्ति वा संघ, संस्थाको जन्म वा स्थापना भएको ७० वर्ष प्रवेशलाई प्लेटिनम महोत्सवको रुपमा विशेष ढंगले मनाउने गरिन्छ। तर, नेपाली कांग्रेस केन्द्रीय कार्यालय र यसको नेतृत्वले आजका दिनलाई सम्झिन त भ्याएन नै, सम्झाउँदा पनि पार्टीको स्थापना दिवस आज नभएर अर्कै दिन भएको भन्दै हल्का ढंगले लिन पछि परेन। कांग्रेसका जिम्मेवार तहमा रहेका नेता अथवा मुख्यालयका पदाधिकारीहरुले गरेको तर्ककै आधारमा भन्ने हो भने पनि उक्त पार्टीले अहिलेसम्म आफ्ना केही स्थापित नेताहरुको जन्म र मृत्यु भएको दिन सम्झिएर एकाध कार्यक्रम गर्ने बाहेक न त स्थापना भएको ५० वर्ष अर्थात स्वर्ण महोत्सव नै सम्झिन भ्यायो न ६०र्औ वर्ष, जसलाई हिरक महोत्सव भनिन्छ, त्यो नै मनायो र अहिले प्लेटिनम महोत्सव नै।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update