हिमाल दैनिक
निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। प्रमुख आयुक्त थपलियाले निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्ला सदरमुकाममा तोकिएको मतदानस्थलमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री पुगिसकेको जानकारी दिए। आयोगले बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। मतदान सकिएपछि बिहीबार नै नतिजा प्रकाशन गर्नेगरी व्यवस्था मिलाएको आयोगले जनाएको छ। निर्धारण गरेबमोजिमको परिचयपत्र लिइ मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई अनुरोध गरेको थपलियाले बताए। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यले राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान गर्नेछन्। निर्वाचन हरेक प्रदेशमा हुने र सोहीअनुसार प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चयन हुनेछ। ५९ सदस्यीय राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिँदैछ। तीमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन्। यसरी निर्वाचन हुने सदस्यका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच चुनावी तालमेल भएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच विपक्षी गठबन्धन बनाएर चुनावी मैदानमा उम्मेदवारहरु खडा भएका छन्। जसमा अन्य प्रदेशको हकमा सत्तारुढ नेकपाका उम्मेदवार स्वतः विजयी हुने अवस्था रहेको छ भने प्रदेश नम्बर २ को चार सिटमा सत्ता र विपक्षी गठबन्धनबीच कडा टक्कर हुने स्थिति रहेको छ। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। राष्ट्रिय सभाका एकतिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update