प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुदमा नेपाललाई पदक दिलाउने खेलाडी र प्रशिक्षकलाई सम्मान पदक अनुसारको नगद रकम उपलब्ध गराउने घोषणा अनुरुप सबैभन्दा बढि रकम गौरिका सिंह एक्लैले ६५ लाख पाउने भएकी छिन्।
पदक विजेता खेलाडीहरुको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेतालाई जनही ९ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका हुन्।
तर, एउटै व्यक्तिले दुई वा दुई भन्दा बढि स्वर्ण पदक जितेको हकमा निजलाई प्रति पदक ११ लाखका दरले पुरस्कार रकम उपलब्ध गराउने जानकारी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले हिमाल दैनिकलाई भने।
यसरी चार स्वर्ण, २ रजत र तीन कास्य पदक विजेता गौरिका सिंहले भने ६५ लाख रुपैयाँ पाउने सल्लाहकार थापाले जानकारी दिए।
त्यसैगरी दुई स्वर्ण पदक विजेता रहेका करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले प्रति पदक ११ लाख रुपैयाँका दरले जनही २२ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।
स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन्। त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने घोषणा प्रधानमन्त्री ओलीले गरेका छन्।
काठमाडौंमा मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो। यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय