तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।
सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक हात पारे। उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जितेका हुन्। भारतकै श्रे सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेन्डमा उक्त दूरी पार गर्दै कास्य पदक जिते।
सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ। उनले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान कायम गरेका थिए। अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन।
सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जितिन। उनले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण पदक हात पारेकी हुन्।
त्यस्तै नेपालकी पुष्पा भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गर्दै रजत र भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारे।
एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पारे। उनले १ मिनेट ५१।४४ सेकेन्डको समय खर्चिएका थिए।
१ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१।२५ सेकेन्डको समयसहित रजत पदक हात पारे।
जारी सागमा नेपालका यो ४२औँ स्वर्ण पदक हो। रासस
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय