हिमाल दैनिक
विश्वभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका कारण प्रतिनिधि सभाको बैठक समेत प्रभावित हुने भएको छ। पुस ४ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन जसलाई विधेयक अधिवेशन समेत भनेर चिनिन्छ, उक्त अधिवेशनमा कहिल सभामुख चयन प्रक्रिया त कहिले सरकारले आवश्यक विधेयक र विजनेश दिन नसक्दा प्रभावकारी बन्न सकिरहेको थिएन। त्यहिबीचमा पछिल्लो समय उत्पन्न नयाँ परिस्थितीको सामना गर्न सरकारले २५ जनाभन्दा बढि व्यक्ति समूहमा जमघट नहुन र भए कारबाही गर्नेदेखि शैक्षिक संस्था, चलचित्र हल, डान्सबार, रंगशाला र व्यायम केन्द्रहरु समेत बन्द गर्ने निर्णय पश्चात प्रतिनिधि सभाको शुक्रबारका लागि डाकिएको बैठक पनि सूचना प्रकाशित गरी स्थगित गर्ने तयारी संसद सचिवालयले गरेको हो। यसबारे बिहिबार सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न दलका प्रमुख सचेतक र सचेतक लगायतका प्रतिनिधिहरुसँगको परामर्श पश्चात एक हप्ताका लागि बैठक स्थगित गर्ने सहमति भएको स्रोतले बतायो। यसबारे सभामुख सापकोटाले सरकारका प्रतिनिधिहरुसँग पनि परामर्श गरी आजै साँझसम्ममा संसद सचिवालयले सूचना भोलिको बैठक स्थगित गरीएको जानकारी सांसदहरुलाई मोबाइल म्यासेजमार्फत दिने तयारी गरिरहेको छ। सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट तयारीका लागि नयाँ नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता र सिद्धान्तको तयारीका लागि पनि चालु विधेयक अधिवेशन बढिमा दुई दिन चलाउने तयारी गरेको थियो।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update