हिमाल दैनिक
रेडियोधर्मी पदार्थलाई औषधि–उपचारजन्य कामका लागि मात्र प्रयोगमा ल्याउनुपर्ने
bidhyan samiti
सांसदहरुले रेडियोधर्मी पदार्थ र त्यससँग सम्बन्धित प्रविधिलाई औषधिजन्य कामका लागि मात्र प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पारमाणविक विधेयक, २०७५ माथिको छलफलका क्रममा उनीहरुले रेडियोधर्मी पदार्थ संवेदनशील पदार्थ भएकाले यसलाई औषधि–उपचारजन्य कामका लागि मात्र प्रयोगमा ल्याउनुपर्ने र यसको जिम्मा छुट्टै निकायलाई दिनुपर्ने पनि बताए । त्यस्तै सांसदहरुले नेपाललाई आवश्यकपर्ने रेडियोधर्मी पदार्थको गलत प्रयोगलाई नियन्त्रणमा पनि जोड दिनुपर्ने धारणा राखेका थिए । बैठकमा समितिले सरोकारवाला निकायहरुलाइ पनि छलफलमा बोलाएको थियो । उनीहरुले नेपालमा प्रयोग भएको रेडियोधर्मी पदार्थ र यसको असरबारे जानकारी गराएका थिए । बैठकमा सहभागी शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त बिधेयकमाथि आएका सुझाव र संशोधनलाई समावेश गरिने भन्दै छिटो पारित गर्न आग्रह गरेका थिए । उक्त बिधेयकमाथि मंगलबार नै सैद्धान्तीक छलफल सकिएपछि दफावार छलफल पनि सुरु भएको समिति सदस्य प्रकाश पन्थले जानकारी दिए । जोखिम न्यूनीकरण र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने भए मात्र कानुन बनाउनुपर्ने भन्दै यसमा विस्तृत छलफलको आवश्यकता रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update