हिमाल दैनिक
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी दफावार छलफल
shikshya samiti
संसदीय समितिमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ ।बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकको दफावार छलफल सकिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिए । विधेयकमाथि केहिदिन यता दफावार छलफल भइरहेको थियो । विधेयकमा २२ सांसदले ७७ बुँदामा संशोधन दर्ता गराएका थिए । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्माले संशोधनकर्ताले दिएको सुझावका आधारमा विधेयक तयार गर्ने बताए । समिति सदस्य रामकुमारी झाँक्रीले विश्वविद्यालयले अनुसन्धान र प्राज्ञिक क्षेत्रमा प्रशंसनीय काम गरेको व्यक्तिलाई मात्र मानार्थ उपाधि दिनुपर्ने सुझाव दिईन । विधेयकमा उल्लेखित सांस्कृतिक तथा समाजसेवीलाई समेत मानार्थ उपाधि दिइने प्रावधान हटाइएको छ । समिति सदस्य गगन थापाले विदेशी नागरिकलाई पनि संरक्षक समितिको सदस्य, विश्वविद्यालयको पदाधिकारीमा राख्न सकिने व्यवस्था हुनुपर्ने बताए । विधेयकमा विदेशी नागरिकलाई पनि संरक्षक समितिका सदस्य र पदाधिकारी रहने व्यवस्था गरे पनि केही समिति सदस्यले विदेशी नागरिकलाई नराख्न सुझाव दिएका थिए । “हाम्रा देशका राम्राराम्रा प्राध्यापक विदेशस्थित विश्वविद्यालयमा रहेका छन्” थापाले भने, “हामीले पनि विश्वविद्यालयको संरक्षक समिति र पदाधिकारीमा बाहिरका प्रतिष्ठित प्राध्यापकलाई राख्नुपर्दछ ।” सरकारले विज्ञान र प्रविधिको छुट्टै विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक ल्याएको हो । पचासी प्रतिशत विज्ञान र प्रविधि तथा १५ प्रतिशत अन्य विषय पढाइ हुने व्यवस्था रहेको विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा र केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहनेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update