हिमाल दैनिक
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले व्यवहारमै आर्थिक विकास र सम्बृद्धिको कार्यभार पुरा गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा सदस्यमा सपथ ग्रहण गरेपछि बसेको राष्ट्रियसभाको बैठकमा श्रेष्ठले प्रकृति र पुर्खाले आर्जेको यस्तो सुन्दर देश हुँदाहुदै लाखौँ युवा खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको भन्दै अव त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए । नेकपालाई नेपाली जनताले बहुमत दिएको र सरकारले पनि संघीयता कार्यान्वयनका लागि गुणात्मक काम अघि बढाएको भन्दै नेपाली समाज र जनजीवनलाई सकारात्मक दिशातर्फ अघि बढाइरहको उनले बताए । उनले राष्ट्रिय एकताका सवालमा भारतले मिचेको लिम्पियाधुराको नेपाली जमिन फिर्ता गर्न पहल गनुपर्ने, लोकतन्त्रका आधारभुत मान्यतालाई विकास गर्दै प्रतिगमनका सारा षड्यन्त्र असफल पार्नुपर्ने पनि बताए । उनले देश विकासका लागि एक पक्षले अर्को पक्षलाई दोष दिएर नभई आत्मसमीक्षा गर्नुपर्छ सक्नुपर्ने र समृद्धिको यात्रामा हातेमालो गर्नुपर्नेमा जोड दिए । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रिय अभियानलाई अघि बढाउन सवैले आफ्नो दायित्व बुझ्नुपर्ने बताए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले सहकार्य र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै आर्थिक तथा सामाजिक रुपान्तरणका लागि एक ठाउँमा उभिनुपर्ने बताईन । समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राष्ट्र निर्माणमा नवनिर्वा्चित सदस्यको महत्वपूर्ण भूमिका भएको भन्दै मुलुकलाई समृद्ध बनाउन दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सपथग्रहण गरेका राष्ट्रियसभा सदस्यहरुलाई स्वागत गरेका थिए । त्यस्तै उनले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना पनि गरेका थिए । बैठकमा गृहमन्त्री रामबहादुर थापाले अख्तियारको बार्षिक प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक फाल्गुन २९ गते बोलाइएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update