नेपाल ट्रष्टको जग्गा यति समूहलाई दिएको विषयमा सरकारले हालै जारी गरेको श्वेतपत्रलाई प्रतिपक्षी दलमात्र होइन स्वंय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले समेत ‘अश्वेतपत्र’ भन्दै सरकारले देश र जनतालाई ढाँटेको आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्रष्टको नाममा रहेको मातातिर्थको १७३ रोपनी जग्गा हिनामिना गरेको आरोपको तथ्य र प्रमाणसहित प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गरेकै भोलिपल्ट नेकपाका सांसद जनार्दन शर्माले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको श्वेतपत्रलाई अश्वेतपत्रको संज्ञा दिए।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता शर्माले सरकारका तर्फबाट दुई दिनअघि रक्षामन्त्री पोखरेलले आफ्नो कुनै संलग्नता नै नरहेको विषयमा आफूलाई बदनाम गर्ने काम भएको भन्दै आपत्ति प्रकट गरे।
शर्माले भने, ‘सरकारले २ दिनअघि श्वेतपत्र जारी गर्यो। श्वेतपत्र भनेको के हो मलाई थाहा छैन। सायद कुनै विषयमा जस्ताको तस्तै कुरा जनताको सामु ल्याउने कुरालाई स्वेतपत्र भन्छ जस्तो मलाई लाग्छ। मैले मिडियाबाट थाहा पाएँ कि फलाना, फलाना, फलानाहरु पनि जग्गा बेच्न लागे, लिजमा दिन लागे भनेर लेखियो। पढिसकेपछि तथ्य के होला भनेर खोज्नका लागि म नेपाल ट्रष्टको कार्यालयमा गएँ। ट्रष्टको कार्यालयमा माइन्युटमा के लेखिएको छ भनेर मैले हेर्न मागे। तर मलाई माइन्युट हेर्न दिइएन। निवेदन दिएर हेर्न पाउँ भन्दा पनि ताल्चा लगाइएको छ भन्दै मलाई हेर्न दिइएन। मैले त्यहाँका कर्मचारी साथीहरुसँग सोधेँ। मेरो नाम पनि आयो। म ट्रष्टको कार्यालयमा गृहमन्त्री हुँदा कहिले पनि पसेको थिएन। आज त आएँ। तर, कसरी आयो मेरो नाम भनेर मैले पश्न गरे,’ उनले भने।
जवाफमा कर्मचारीहरुले आफूलाई आफ्नो कार्यकालमा यसबारे कुनै निर्णय नभएको जानकारी सरकारका रक्षामन्त्रीलाई दिएको जानकारी दिएको शर्माले बताए।
साथै उनले आफ्नो कार्यकालमा गृहसचिव रहेका वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई यसबारे सोधपुछ गरेको बताउँदै भने, ‘सभामुख महोदय, मैले मुख्यसचिवलाई पनि सोधेँ। मुख्यसचिवज्यू म गृहमन्त्री हुँदा कुनै निर्णय भएको थियो त? अथवा मैले थाहा नपाई कुनै निर्णय गराउनु भएको थियो त?’
मुख्यसचिवले आफूलाई उक्त श्वेतपत्रको विवरण झुटा भएको बताउँदै भने, ‘होइन हजुर यो विवरण विल्कुलै झुटा हो। हजुरको पालामा पनि भएन र अरु सम्माननीयको पालामा पनि भएन भनेर उहाँले भन्नु भयो। अनि म आश्चर्यमा परेँ। श्वेतपत्र हो कि अश्वेत पत्र हो?’
उनले थप्दै भने, ‘मेरो पश्न छ सभामुख महोदय, यो श्वेतपत्र हो भने जस्ताको तस्तै आउनु पर्यो, अश्वेतपत्र हो भने यसलाई मान्य कुरा भयो।’
दुई दिनअघि रक्षामन्त्री पोखरेलले पत्रकार सम्मेलन गर्दै ट्रष्टको जग्गा विगतमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका सरकार र मन्त्रीहरुले जथाभावी भाडा र लिजमा दिएको भन्दै सरकारले पछिल्लो समय यति समूहलाई गोकर्ण रिसोर्ट लगायतको जग्गा दिएको विषयलाई ओझेलमा पार्ने कोशिश गरेका थिए।
सत्तापक्षकै सांसद शर्माले श्वेतपत्रमा उल्लेखित भाषा बाचन गर्दै उक्त विवरणमा २०७४ कात्तिक १३ गते निर्णय भएको भनेर आफ्नो नाम समेत जोडिएकोमा आपत्ति प्रकट गरे।
‘यहाँ लेखिएको छ, २०७४–७–१३ गते थार्मसेकुर (थामसेर्कु) प्रा.लिको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन नेपाल ट्रष्टका संरक्षक सम्माननीय शेरबहादुर देउवा र गृहमन्त्री माननीय जनार्दन शर्मा भनिएको छ।’
श्वेत पत्रमा आफूहरुले गरेको भनि लेखिएकै आधारमा पत्रपत्रिका र अनलाइनहरुले फलाना फलाना पनि सहभागी भएको भन्दै समाचार लेखेको बताए।
नेता शर्माले उक्त निर्णय भएको भन्दै नियतवश आफूलाई बदनाम गराउन लेखिएको आरोप लगाए।
उनले त्यसपछिका निर्णयको विषयमा मितिमात्रै उल्लेख गरिएको तर, आफू लगायतका व्यक्तिको नाम लेखिएकोमा आपत्ति प्रकट गर्दै उनले भने, ‘नाम कतैँ लेख्नु नपर्ने र कहीँ लेख्नुपर्ने किन?’
उनले लेख्नुपर्दा पनिआफू कार्तिक १३ गते नभई असोज ३० गतेबाटै हटेर विनाविभागीय मन्त्रीको रुपमा रहेको स्पष्टिकरण दिए।
‘असोज ३० गते नै मैले पत्रकार सम्मेलन पनि गरेँ र मलाई विनाविभागीय मन्त्री बनाइयो। अब मन्त्री नै नभएको मान्छेलाई नाम लेखिने कुरा र कर्मचारीहरुले छैन हजुर उहाँको नाम छैन भन्दाभन्दै लेखिएको कारण के? किन लेखियो र लेख्नु पर्ने नाम किन लेखिएन? त्यसकारण यो श्वेतपत्र होइन कि अश्वेतपत्र हो भन्ने मलाई लागेको छ।’
उक्त अश्वेतपत्र लेख्नुको कारण आफूले बुझ्दा आफूले गलत कुरा केही नभने पनि सरकारले राज्य व्यवस्था समितिमा ल्याएका कतिपय ऐनहरु संविधानको भावना विपरित आउँदा संशोधन गराउने र परिमार्जनमा लागेको बताए।
यसका अतिरिक्त आफूले देशमा संमृद्धि र विकासका लागि भ्रष्टाचरको अन्त्य पहिले गर्नु पर्ने भन्दै सरकार दलालहरुको घेराबाट बच्नुपर्ने भनि सरकारलाई सहयोग गरेकोपनि बताए।
‘के मैले भन्ने गरेका यिनै कारणहरुले मेरो नाम लेखिएको हो? मेरो प्रश्न छ सभामुख महोदय, म यसको जवाफ चाहन्छु,’ उनले आक्रोसित हुँदै थपे, ‘यसरी नै मलाई तर्साउन खोजिएको हो? वा मलाई आकर्षण गराउन खोजिएको हो?’
आफू सत्यको पक्षमा अडिग भएर उभिने र कसैसँग नतर्सिने बताउँदै उनले भने, ‘यहाँ जसरी यो कुरा लेखियो, सरकारले मलाई त ढाँट्न सक्ला, मलाई त ठग्न सक्ला तर, जनतालाई ढाँट्न सक्छ? मतदातालाई ढाँट्न सक्छ?’
उनले जनता र मतदातालाई ढाँट्न सक्ने सरकारले कहिल्यै पनि काम गर्न नसक्ने दाबी गरे।
‘यस्तो सरकारलाई कसरी विश्वास गर्ने सभामुख महोदय? विश्वासको संकट पर्यो यहाँ। विश्वासको संकट हुनेगरी विषयहरु यहाँ किन राखियो र लेखियो?’ उनले प्रश्न गरे।
कतिपय लेख्नु पर्ने ठाउँमा लेख्नु पर्नेको नाम नलेखि नलेख्नु पर्नेको नाम लेखिएको र मिडियाबाजी गर्ने र गराउने काम किन भयो भनि सरकारको जवाफ खोेजे।
‘मुख्यसचिवले नलेख्न भन्दा भन्दै किन लेखियो? यसकारण मलाई शंका छ, यसको मलाई जवाफ चाहिन्छ। विश्वासको संकट पर्यो,’ उनले भने।
सकारात्मक सहयोगले अगाडि बढिरहेको आफ्नै पार्टीको सरकारले नभएका विषयहरु लेख्नुको कारण के भन्दै उनले प्रस्ताव गरे, ‘ट्रष्टमा बाँडिएका सबै कुराहरु फिर्ता ल्याउनु पर्छ। नयाँ ढंगले त्यसको व्यवस्थापन गर्नु पर्छ।’
साथै उनले भएको ऐनको दुरुपयोग भएको भन्दै नेपाल ट्रष्ट ऐन सच्याउन पनि माग गरे।
साथै उनले आफ्नाविरुद्धमा गरिएको प्रचारबारे जवाफ खोज्दै भने, ‘रक्षामन्त्रीज्यू, प्रधानमन्त्रीज्यूबाट जवाफ चाहन्छु।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय