सम्माननीय समामुख महोदय,
संचार मन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको घुस लेनदेनको वार्तालापको अडियो हामीले फाल्गुन ९ गते बिहान सुन्याैँ। यो वार्तलाप सम्माननीय प्रधानमन्त्रीजीले केहि महिना अगाडी सुन्नु भएको थियो भन्ने अनुमानहरु होइन, दाबीहरु संचार मध्यममा छापिएका छन्, बजिरहेका छन्।
यसकाे बारेमा संसदमा आएर उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसंग छ कि छैन?
प्रधानमन्त्रीज्यूसंग हिम्मत छ कि छैन? मलाई थाहा छैन, सम्माननीय समामुख महोदय। तर, संसदसंग त्यो हिम्मत हुनैपर्छ। ध्यानाकर्षण मात्र होइन सम्माननीय समामुख महोदय, संसदले यो समर्थ्य राख्नैपर्छ। सम्माननीय प्रधानमन्त्रीजी, डाँडा-काँडा डुलेर बस्ने होइन, ताल- तलैया हेरेर बस्ने होइन, सदनमा आउनुपर्छ। यहाँ उभिनु पर्छ। हाम्राे प्रश्नको सामना गर्नुपर्छ। हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन सहि प्रश्न सोध्ने छौँ।
सम्माननीय समामुख महोदय, म सम्माननीय समामुख महोदयलाई प्रधामन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ्ग गर्नका निम्ति आग्रह गर्न चाहन्छु।
प्रधानमन्त्रीजीले के भन्नुहुन्छ मलाई थाहा छैन तर, उहाँका आसेपासेहरुले केहि दिनदेखि एउटै कुरा भनिराख्नुभएको छ, 'प्रधानमन्त्रीलाई थाहा थिएन'।
प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने, अनि प्रधानमन्त्रीको भनाइका आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएका यो कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनु पर्ने! हामीले पत्याउने नै हो भने, हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ। यो सबै कुरा तपाइलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईलाई के थाहा छ? प्रधानमन्त्रीजी तपाइलाई थाहा छ, नागरिकहरु के भन्दैछन?
यो सेक्युरिटी प्रेसको ठेक्का मात्र होइन, स्याटेलाइटको ठेक्का, फोर-जी विस्तारको ठेक्का, अप्टिकल फाइबर विस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको ठेक्का, सामुदायिक बिधालयमा कम्प्युटर ल्याबको स्थापना गर्ने, स्वास्थ्य संस्था, वडा, इकाई, बिद्यालय यस सबै ठाउँमा फ्री-इन्टरनेट सेवा पुराउने यो सबै ठेक्काका बारेमा सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुरा थाहा थियो।परिस्थिति नियन्त्रण बाहिर गई सके पछाडी अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइएको छ भनेर नागरिकले भन्दै छन्, तपाईलाई थाहा छ?
प्रधानमन्त्रीजी भ्रष्टचारीको अनुहार हेर्दिन भनेर पटक पटक दोहर्याउनु भएको छ। तर, नागरिकहरु तपाईलाई प्रश्न गर्दछन, 'बालुवाटारमा ऐना छ कि छैन भनेर सोधैछन् प्रधानमन्त्रीज्यू तपाईलाई थाहा छ?'
प्रधानमन्त्रीजी तपाईकै पार्टीका कार्यकर्ताहरु ठुलो स्वरले बोल्न सक्दैनन्। तर, यही संसद्को लबिमा भेट्दै गर्दा कहिले कहिँ झिनो स्वरमा हामीलाई काने-खुसी गरेर भन्छन्, हाम्रो प्रधानमन्त्री पहिले मार्क्सवादी जस्तो देखिनुहुन्थ्यो, बिचमा समाजवादीजस्तो देखिन थाल्नुभयो। आज भोलि यताबाट हेरेपनि उताबाट हेरेपनि यतिवादी मात्र देखिनु हुन्छ भनेर भन्छन्, प्रधानमन्त्रीजी तपाईलाई थाहा छ?
https://www.youtube.com/watch?v=OcAPqk0COeM
प्रधानमन्त्रीजी तपाईलाई थाहा छ? प्रधानमन्त्रीजी तपाईलाई थाहा छ? एमसीसीको प्रकरणका सन्दर्भमा तपाईका पार्टीभित्रका खाट्टी राष्ट्रवादीहरुले तपाइलाई जसले तह लगाइदिएका छन्, अनि दुई दिन अगाडी मात्रै अहिले जति जाल झेल गरेर होइन होइन भने पनि तपाईको पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशाेधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने कुरामा तपाई जसरी कमजाेर देखिनु भयो, यो देखेपछि तपाइलाई बाहिर के भन्दैछन् थाहा छ? देखिँदाखेरि सुरो, यथार्थमा बिचरो भन्दैछन्।प्रधानमन्त्रीजी तपाईलाई थाहा छ।
सम्माननीय प्रधानमन्त्रीजी तपाइको जन्मदिनको बारेमा चर्चा गर्न चाहन्न। त्यो तपाईको नितान्त वैयक्तिक कुरा हो, मेरो पनि तपाइलाई शुभकामना छ। तर, नागरिकहरु के भन्दैछन् थाहा छ?
सम्माननीय प्रधानमन्त्रीज्युको राशी ठाँटका साथ मनाइएको जन्माेत्सवले हामीलाई साट्ठी एकसट्ठी सालको पूर्व राजा ज्ञानेन्द्रको न्यास्राे मेटाई दिएको छ भनेर भन्दैछन्।
पूर्व राजा यसैगरि हिँडीबक्सन्थ्यो। आफै अभिनन्दन गराउन लगाईबक्सन्थ्यो। बिद्यार्थीहरुलाई बोलाईबक्सन्थ्यो। सबैले जय जयकार गर्थे। आफ्नो छेऊको भारदारलाई सोधिबक्सन्थ्यो। एक दुई जना मानिस यता उता बिरोध गरिराखेका छन् नि! अनि भारदारले भन्थे, 'महाराज सब ठिक छ। एक दुई जना केहि मानिसहरु मात्र महाराजको बिरोध गरिरहेका छन्।
प्रधानमन्त्रीजी मात्र होइन जन्माेत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीजीकाे वरिपरी जे जस्तो भिड देखियो, तछाड मछाड देखियो। यो देख्दै गर्दा प्रधानमन्त्रीको वरिपरी रहनेहरुले पूर्व राजा ज्ञानेन्द्रको भारदारको न्यास्राे पनि हामीलाई मेटाईदिएका छन्।
प्रधानमन्त्रीजी तपाइलाई के थाहा छ के थाहा छैन, मलाई थाहा छैन। मलाई थाहा पाउँनु पनि छैन तर, मलाई यति मात्र कुरा थाहा छ, तपाइले सबैकुरा थाहा पाउनु भएको छ र थाहा नपाएको जस्तो गर्दै गर्नुभएको छ भने त्यो पाप हो। तपाइले केहि पनि कुरा थाहा पाउनु भएको छैन भने त्यो अक्षमता हो।
संख्या तपाईसंग होला प्रधानमन्त्रीजी तर, यी दुबै अवस्थामा शासन गर्ने वैधानिक योग्यता, क्षमता तपाइले गुमाउनुभएको छ। त्यसैले सम्माननीय प्रधानमन्त्रीजी, नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाई स्वास्थ्यलाभ गर्न गईदिनुहाेस्।
धन्यबाद।
(२०७६ साल फाल्गुन १३ गतेको प्रतिनिधि सभाको बिशेष समयमा बोल्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापा )
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय