सरकारले जर्मन र फ्रान्सेली कम्पनीबाट सोझै खरिद गर्न लागेको सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको अनियमितताको विषयमा संसदको सार्वजनिक लेखा समितिले पूर्वनिर्धारित कार्यसूचि अनुसार बिहिबार समितिको बैठक संचार मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रका प्रमुखलाई बोलाएको थियो।
त्यहिबीचमा बुधबार साँझदेखि एउटा समाचार संचारमाध्यमबाट आयो कि संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिशन मागे।
सोेही समाचारले नेपाली मिडियादेखि सामाजिक सञ्जालमा विशेष स्थान पाइरहेपनि बिहिबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा समिति मन्त्रालयका सचिव दिपक सुवेदी र मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले उक्त प्रेस खरिदका विषयमा गोलमटोल जवाफ दिइरहेका थिए।
तर, सचिव सुवेदीले जवाफका क्रममा आफू मन्त्रालयमा भर्खर तीन महिनादेखि मात्रै कार्यरत रहेको भन्दै आफूले थाहा पाएको जानकारी दिने बताउँदै फ्रान्स र जर्मनबाट नेपाली आवश्यकता अनुसारकै प्रस्ताव आएकोले निर्णयार्थ मन्त्रिपरिषदमा पठाएपनि खरिदको विषय टुंगो लागि नसकेको बताए।
त्यसैगरी कार्यकारी निर्देशक पौडेलले समितिका सदस्यहरुलाई कसैले सुरक्षण मुद्रण परियोजना जस्तो बृहत राष्ट्रिय परियोजनाको विषयमा गलत ब्रिफिङ गरिदिएछ भन्दै सरकारी योजनाको बचाउ गरे।
जवाफका क्रममा मन्त्री र मन्त्रालयका उच्चपदाधिकारीसहित आफूले जर्मनी र फ्रान्सको पटक पटक सरकारी खर्चमा भ्रमण गरी उक्त कम्पनीले उपलब्ध गराउने उपकरणबारे जानकारी लिएको बताए।
तर, सरकारले काभ्रे र हेटौंडामा स्थापना गरिने मुद्रण केन्द्रको भौतिक संरचनाको लागत खर्चबारे सांसदहरुले मागेको जानकारीमा आफू सिभिल इन्जिनियर नभएको भन्दै ओठे जवाफ दिए।
त्यसबाट रुष्ट बनेका समिति सदस्य मीनेन्द्र रिजालले मन्त्रालय र केन्द्रको मुख्य पदाधिकारीको हैसियतले आफूलाई थाहा छैन नभनी सबै निकायले गरेका कामकारबाहीको जिम्मेवारी लिएर बोल्न सचेत गराए।
त्यसका बाबजूद पनि पौडेलले समितिका सदस्यहरुलाई सेक्युरिटी प्रेसको विषयमा बुझाउन टोयटा गाडी खरिद गर्दा फलामको मूल्य सोधेर नहुने भन्दै पाठ पढाउन खोजे।
उनको प्रस्तुती र विवरणबाट समितिका सभापति भरतकुमार शाहदेखि समितिका सदस्यहरु मीनेन्द्रप्रसाद रिजाल, विरोध खतिवडा, इस्तियाक राई लगायतलाई चित्त बुझिरहेको थिएन।
त्यहिबीचमा विरोध खतिवडाले मन्त्री र कर्मचारीले फ्रान्स र जर्मनीको भ्रमण पटक पटक कसको खर्चमा के कति जना र कति पटक गएको भनि प्रश्न गरे। जवाफमा पौडेलले आफ्नो एक पटकको फ्रान्स भ्रमण त्यहिको सरकारले र अरुको सबै सरकारी खर्च भएको जानकारी दिए।
त्यति बेलासम्म समितिका सदस्यहरुको चासोको सीमा नाघिसकेको थियो। उता अपरान्ह १ बजे संसदको बैठकमा जाने हतारो सदस्यहरुमा थियो। समितिका सदस्यहरुसँग अनगिन्ती प्रश्नहरु थिए। जसको जवाफ आजैको बैठकमा दिनसक्ने अवस्था पनि थिएन।
यसबारे समितिले एक उपसमिति बनाएर विस्तृत अध्ययन र छानविनको खाँचो रहेको भन्दै केही सदस्यहरुले सभापतिलाई सुझाव दिँदै थिए।
त्यहिबीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्य सूर्य पाठकले आफ्नो मोबाइलमा आएको एउटा स्टाट्स देखाउँदै भने, ‘सभापतिज्यू, यहि विषयमा १४ जना समितिका सदस्यहरुको फोटो राखेर ४ अर्ब खाँदै जर्मनीको कम्पनीलाई प्रेस खरिद गर्न समितिले निर्णय गर्दैछ भन्ने कुरा सामाजिक संजालमा आयो। यो समितिका सदस्यहरुको चरित्र हत्या गर्ने कार्य हो। यसबारे समितिले उक्त व्यक्तिमाथि साइबर क्राइममा कारबाही गराउन निर्णय गर्नु पर्छ।’
त्यसपछि समितिको माहोल तातियो। पाठकले प्रभाव किशोर उपाध्याय भन्ने व्यक्तिको फेसबुकमा समितिका सदस्यहरुदेखि उक्त समितिमा अहिलेसम्म उपस्थित नभएका सांसदहरुको समेत तस्विर राखिएको भन्दै मोबाइलमार्फत उक्त स्टाट्स देखाए।
यसका अतिरिक्त उनले हिँजो साँझदेखि चर्चामा आएको मन्त्री बाँस्कोटाको अडियो सम्वादका विषयमा समितिमा उजुरी दिने विजयप्रकाश मिश्रले एउटा अनलाइनमा समितिका सदस्यहरुप्रतिको अविश्वासका कारण अडियो सार्वजनिक गरेको भन्ने अभिव्यक्ति दिएको भन्दै यसबारे पनि छानविन र कारबाहीको माग गरे।
त्यसपछि समितिमा केहीबेर हल्ला छायो। समितिका सदस्य मीनेन्द्रप्रसाद रिजालले पनि लेखा समितिको विश्वसनीयतामाथिको आक्रमण भन्दै यसबारे गम्भीर हुन आग्रह गरे।
मन्त्री पदबाट हटेर लेखा समितिमा पुगेका समाजवादी पार्टीका सांसद इस्तियाक राइले पनि यो चरित्र हत्या गर्नेलाई साइबर क्राइममा कारबाही हुनु पर्छ भन्दै कड्किए।
त्यहिबीचमा समितिका सभापति भरतकुमार शाहले अरुले जे सुकै भनेपनि आफूहरुले इमान्दार भएर काम गर्नु पर्नेमा जोड दिए।
त्यसपछि विरोध खतिवडाले बिहानदेखि आएको मन्त्री बाँस्कोटाको विषयमा दुई तीन दिनभित्र सार्वजनिक पद धारण गरेको व्यक्ति बाहिर जाने वा के गर्ने भन्नेबारे पार्टीले निर्णय गर्ला भन्दै सेक्युरिटी प्रेसको विषयमा अध्ययन गरी पाँच छ दिनपछि बैठक राख्न सुझाव दिए।
फेसबुकमा आएको विषयमा समितिका सभापति र केही सदस्यहरुले संसद सचिवालयमा रहेका कानूनी सल्लाहकार र महासचिवसँग परामर्श गरी अघि बढ्न सुझाव दिए।
त्यहि सुझाव अनुसार, समितिका सभापति र सचिवले संसद सचिवालयका कानूनी सल्लाहकारसँग परामर्श गरी समितिका सदस्यहरुको चरित्र हत्या गर्न संलग्न प्रभात किशोर उपाध्याय जसले फेसबुकमा समिति सदस्यहरुको विरुद्ध आफ्नो स्टाट्स राखेका थिए र अर्का विजयप्रकाश मिश्र जसले मन्त्रीसँगको अडियो मिडियामा सार्वजनिक गरेपछि समितिका सदस्यहरुको विरुद्ध टिकाटिप्पणी गरेका थिए उनीहरुमाथि साइबर क्राइम र कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार गरियो।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय