नेपाली कांग्रेसले सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड कमिशन मागेको विषयमा मन्त्रीको वर्खास्त गर्न माग गर्दै संसदको बैठक अवरुद्ध गरेको छ।
करिब २ घण्टा ढिलो गरी बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सदस्यहरु उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिए।
भुसालले सरकारका प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार गदिृन र भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्रीकै मन्त्रिपरिषदका मन्त्री संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको बताइन्।
https://youtu.be/X-aXQem_6r0
नेपालमा संमृद्धि र आर्थिक सुशमासनको लागि जुन जनताले सन्देश दिएका थिए त्यहि सरकारको क्याबिनेटबाट पटक पटक भ्रष्टाचारका घटना बाहिर आएको बताइन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्ट विश्वप्रकाश मिश्रसँग भएको अडियो सार्वजनिक भएको विषयलाई प्रधानमन्त्रीले कसरी लिनेछन् हेर्नु रहेको बताइन्।
यति गम्भीर विषयमा समाचार आइसकेको छ। सरकारका प्रवक्ता अत्यन्त अब्बल दर्जाको व्यक्तिलाई बनाएको भन्ने प्रधानमन्त्रीले यस्तै भ्रष्टाचारका घटना बाहिर ल्याउन अब्बल दर्जाका व्यक्तिलाई प्रवक्ता बनाएको हो भनि प्रश्न गरिन्।
प्रधानमन्त्रीले भ्रष्टाचारको शून्य सहनशीलता र भ्रष्टाचारी जोसुकैलाई नसहने भनि यहि सदनमा भन्ने प्रधानमन्त्रीले यो घटना बाहिर आएपछि प्रवक्ता बास्कोटालाई तत्काल मन्त्रिपदबाट वर्खास्त गर्न माग गरिन्।
यो भ्रष्टाचारको मुद्दा मन्त्रिपरिषदको विषय बनेको भन्दै यसमा केबल एक मन्त्रीको बर्खास्तमा मात्रै सिमित गरेर नपुग्ने जिकिर गर्दै यसबारे तत्काल प्रधानमन्त्रीले यो सदनलाई जानकारी दिन सभामुखको रुलिङको माग गरिन्।
यो सरकारले भ्रष्टाचारको विषयमा गरेका गतिविधि बाहिर आएको अवस्थामा प्रधानमन्त्रीले हिँजो बालुवाटारको जग्गा प्रकरणमा जग्गा फिर्ता गरेर उन्मुक्ति दिएजस्तै राजीनामा दिएपछि विषय नसकिने बताउँदै यसबारे छानविन र कानूनी दायराभित्र ल्याउने प्रतिबद्धता प्रधानमन्त्रीले सदनमा व्यक्त गर्न पनि माग गरिन्।
साथै उनले यस घटनाको विषयमा मन्त्रिपरिषदको अध्यक्षको हैसियतले सम्पूर्ण जिम्मा लिन पनि माग गरिन।
त्यसपछि सभामुख सापकोटाले सम्बन्धीत मन्त्रीले राजीनामा दिएको जानकारी गराउँदै सदनको कारबाही अघि बढाउन सहयोगको आग्रह गरे। तर, विपक्षी दलका सदस्यहरु उभिएर विरोध जनाएपछि सभामुखले सदनको कारबाही स्थगित गरे।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय