हिमाल दैनिक
क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग
balram banskota
राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरे । चीनबाट नेपाली विद्यार्थीलाई समयमै उद्धार गरेकामा सरकारलाई धन्यवाद दिँदै उनले फिर्ता ल्याउन नसकिएका अन्य चार विद्यार्थीको अवस्थाबारे पनि जानकारी दिन सरकारसँग आग्रह गरे। सरकारले केही दिनअघि चीनबाट उद्धार गरेर ल्याइएका १७५ जना विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेर सूक्ष्म अनुगमन गरिरहेको छ । नेकपाका अर्का सांसद नैनकला ओझाले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा र नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। नेपाली काँग्रेसका सांसद प्रकाश पन्तले विभिन्न विश्वविद्यालय र संवैैधानिक आयोगमा पदाधिकारीले पूर्णता नपाउँदा कामकाज नै प्रभावित भएको भन्दै रिक्त पदपूर्ति कहिलेसम्म हुन्छ भनी प्रश्न गरे ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update