सरकारको नेतृत्व लिएको दुई वर्ष कार्यकाल पूरा गरेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारका उपलब्धीबारे झण्डै १ घण्टा ५ मिनेट समय लिएर जानकारी दिए।
विशेष कारणबस शुक्रबारको सट्टा शनिबार प्रतिनिधि सभाको बैठक बोलाएर प्रधानमन्त्री ओलीले दिएको सकारको काम कारबाही र उपलब्धीबारे सांसदहरुले प्रधानमन्त्रीसँग पनि प्रतिप्रश्न गरे।
यसरी प्रधानमन्त्रीसँग प्रतिप्रश्न गर्ने विपक्षी दलका सांसदहरुको भीडमा सत्तापक्षका एकजना मात्रै सांसद उभिए। उनी थिए, भवानीप्रसाद खापुङ्ग। उनीबाहेक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कुनै पनि सदस्यले प्रधानमन्त्रीसँग प्रश्न अथवा सरकारको प्रशंसा केही पनि गरेनन्। उनीहरुको स्थिति देख्दा लाग्दथ्योः सबैले कुरा बुझेका छन्। सत्तापक्षका खापुङ्गले मात्रै नबुझेर अथवा सत्तापक्षको एक्लो बृहस्पती बन्न पुगे र प्रश्न पनि सोधे। त्यसबाहेक अधिकांश सांसद कांगेसका थिए। उनीहरुमध्ये कतिपय सांसदका प्रश्नकर्ता सांसदको प्रश्न स्वाभाविक र प्रधानमन्त्रीबाट जवाफ सुन्न योग्य पनि थिए त कतिपयका प्रश्न आफैँमा उदेकलाग्दा थिए।
प्रधानमन्त्री ओलीसँग कुन सांसदले के प्रश्न सोधे? जस्ताको तस्तैः
दिलेन्द्रप्रसाद बडुः सम्माननीय प्रधानमन्त्रीजीले आफ्नो २ वर्षे कार्यकालको उपलब्धीको फेहरिस्ताभित्र सीमा विवादबारे एक लाइन खर्चिएनु भएको छ। यसमा थप स्पष्ट हुन चाहेको के भने, कालापानी र सुस्ता सम्बन्धमा प्रधानमन्त्रीस्तरिय वार्ता कहिले प्रारम्भ हुन्छ? कालापानी, लिपुलेक र लिम्पियाधुरासहित आफ्नो भूमि समेटिएको नेपालको नक्सा कहिले सार्वजनिक हुन्छ? कालापानी क्षेत्रमा सुरक्षा चौकीहरु कहिलेसम्म स्थापना हुन्छ? दार्चुला तिनकर निर्माणधीन सडक जसको बजेट बन्द गरिएको छ त्यो सडक कहिलेसम्म सम्पन्न हुन्छ? यसबारे प्रधानमन्त्रीजीले विस्तृतमा अझ स्पष्ट पारिदिनु हुन आग्रह गर्दछु।
https://www.facebook.com/himaldainik/videos/122174022543786/?t=0
सरिता गिरीः प्रधानमन्त्रीजीले आफ्नो सम्बोधनमा संविधान सर्वस्वीकार्य भएको बताउनु भयो। समाजवादी पार्टीको सरकारबाट बहिर्गमन पश्चात संविधान संशोधनको औचित्य र आवश्यकताको अन्त्य भइसकेको हो? प्रधानमन्त्रीज्यूले अझ थप प्रष्ट पारिदिनु होला। उखु किसानहरुलाई माघ ७ गतेसम्म करोडौँ रुपैयाँको वक्यौता दिने सरकारको बचन थियो। त्यसमा केही भएको छैन। अहिले धनगढीमा थारु आन्दोलन जारी छ। रेशम चौधरी लगायत अन्य बन्दीहरुको रिहाइका लागि केही आएन। महिला श्रमिकहरु जो वैदेशिक रोजगारीको नाममा हजारौँ महिलाहरु बेचविखनमा परिराखेका छन्। त्यसप्रति सरकारको ध्यानाकर्षण छ जस्तो लाग्दैन।
पुष्पा भुसाल गौतमः सम्माननीय प्रधानमन्त्रीज्यूले दुइ वर्ष कार्यकालको उपलब्धीका कुरा गर्नु भयो। भनिन्छः मर्निङ सोज द डेज। हाँस्न पाइँदैन, रुन पनि पाइँदैन भन्ने कथनलाई स्वयं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरी घुमेँ तर, जनता खुशी छैनन् भनेर यो पुष्टि गरिसक्नु भएको छ। आज सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्त संघर्ष र बलिदानबाट प्राप्त भएको संविधानको कार्यान्वयनमा म इमान्दार छु भन्नु भयो। मन्त्रिमण्डल गठन गर्दा हाम्रो नयाँ संविधानको प्रस्तावना र धारा ३८ को ४ ले ३३ प्रतिशत महिलाहरुको उपस्थिति देख्न खोजेको थियो। हेर्न खोजेको थियो मन्त्रिमण्डल र स्वयं प्रधानमन्त्रीलाई तर, त्यहाँ २५ जनामा जम्मा दुई जनामात्रै महिलाको उपस्थितिले के संविधानको भावनालाई कदर गरेको छ त? यो ५१ प्रतिशत महिलाहरुको प्रश्न छ कि किन संविधानको कार्यान्वयन भएन?
प्रमे सुवालः शहिदका आमाहरुले भन्दैछन्ः नेताहरु ठेकेदार र ड्रोजर, ट्रिपर मालिक भएर पैसा कमाउँदैछन्। तीन करोडमा २ करोड आफ्नै खल्तिमा राख्छन्। राज्यको उद्योग, धन्दा विकास गरेनन्। कुर्सी ठटाउने ठाँउमा रमाउँदैछन्। प्रधानमन्त्री ठगहरुको घेराभित्र छन्। फेरि लडाई होला जस्तो छ। जनता भन्दैछन्, भक्तपुरमा कोरोना भाइरसको क्वारेन्टाइनस्थल राख्नु र नगरकोट सडक नबनाउँनु नगरकोट पर्यटनलाई समाप्त पार्नु हो स्थानीय जनतालार्य बगाउनु हो। राजधानी उपत्यकाबाहिर नलगेसम्म कुनै पनि सरकार सफल हुने छैन। यसमा प्रधानमन्त्रीज्यूको भनाई के छ?
https://www.facebook.com/himaldainik/videos/206063533870940/?t=1
पार्वता डिसी चौधरीः दुई वर्षको आफ्नो कार्यकाल उपलब्धीमूलक भन्नु भयो ठिकै होला। सम्माननीय प्रधानमन्त्रीज्यू, ललिता निवास जसरी फिर्ता ल्याइयो त्यसैगरी मातातीर्थको १७४ रोपनी जग्गा पनि हामी फिर्ता ल्याउँछौँ भन्नु भयो। ललिता निवासको विषय विशेष अदालतमा गइसकेको छ। यो अहिले नै फिर्ता ल्याइसक्यौँ भनेर बोल्न मिल्छ कि मिल्दैन सम्माननीय प्रधानमन्त्रीज्यूलाई? अदालतमा गइसकेको केस हो। यसले के पुष्टि हुन्छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको दबाब र प्रभावमा छ प्रष्ट हुन्छ। यसमा प्रधानमन्त्रीको भनाई के छ? यसैगरी प्रधानमन्त्रीज्यूले संमृद्ध नेपाल, सुखी नेपाली भन्ने किताब माननीयहरुको पिजनहोलमा राख्ने भन्नु भयो। यो कहिले प्राप्त हुन्छ?
अमृतादेवी अग्रहरीः सम्माननीय प्रधानमन्त्रीको कार्यकाल दुई वर्षको भइसकेको छ। भगवानले उहाँलाई आजिवन प्रधानमन्त्री पदमा रहिरहुन। तर, हाम्रो लाल आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। त्यो कहिलेसम्म सार्वजनिक हुन्छ? यो देशको जनता जान्न चाहन्छन्।
डिला संग्रौला पन्तः प्रधानमन्त्रीज्यूले २ वर्षको उपलब्धी पस्किुन भएको छ। जसरी राष्ट्रवाद, संमृद्धी र सुशासनकोे टोपी लगाएर सत्तामा पुग्नु भएको प्रधानमन्त्रीलाई मेरो एउटामात्रै जिज्ञासा छ। यति समूहसँग सरकार किन सती गयो? नेपाल ट्रष्ट ऐन नै परिवर्तन गरेर नीतिगत भ्रष्टाचार गर्नुको तात्पर्य के हो जवाफ चाहन्छु।
https://www.facebook.com/himaldainik/videos/248194502861942/?t=2
रेनुका गुरुङः सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन र सुझाव सल्लाह दिन विषयगत समितिहरुको गठन भएको हुन्छ जसलाई मिनि पाल्र्यामेन्ट पनि भनिन्छ। तर, राष्ट्रिय महत्वको विषयमा समितिले दिएको प्रतिवेदन तथा निर्देशनलाई सरकारले पालना नगर्नुको कारण के हो? के यसले संसदीय अभ्यासमा प्रतिकूल असर पार्दैन र?
रामबहादुर विष्टः सरकारको तर्फबाट यति होल्डिङ कम्पनीलाई पाँच वर्षको सम्झौता बाँकी हुँदैगर्दा थप २५ वर्षको सम्झौता गरी गोकर्ण रिसोर्टको २९९२ रोपनी जग्गा लिजमा दिनु, शिवपुरी राष्ट्रिय निकुञ्जको २१६ रोपनी जग्गा वार्षिक ४० हजार भाडामा यति कम्पनीलाई दिनु, ताप्लेजुङ पाथिभराको ३१७ जग्गा ८० वर्षका लागि लिजमा यति कम्पनीलाई दिनु सरकारको वाध्यता के रहेछ? यसबाट सरकारलाई फाइदा र नोक्सान के कति छ? मलाई प्रश्न गर्न मन लाग्यो सभामुख महोदय, दुई तिहाइ बहुमतको सरकार बलियो हो कि कौडीको भाउमा जग्गा प्राप्त गर्ने यति कम्पनी बलियो हो? स्पष्ट हुन चाहन्छु।
लक्ष्मी परियारः प्रधानमन्त्रीज्यूले एक दिनमा केही पनि हुन सक्दैन। एक दिनमा रेल आउने, मेट्रोरेल आउनु कुरा भन्नु भयो। दुई वर्षमा पनि सुरु भएको छैन यो कहिलेदेखि सुरु हुन्छ? ललिता निवास काण्डको बारेमा धेरै व्यंग्यात्मक कुरा राख्नु भयो। तर, जसले जग्गा हडपेको हो उसलाई उन्मुक्ति दिएर आफ्नालाई काखा र अर्कालाई पाखा पार्ने के यो सरकारको नियत हो? प्रधानमन्त्रीज्यूले बेरोजगारी युवाहरुको संख्या घटेको र सबैले रोजगार पाएको भन्नु भयो। के सिंहदरबारमा केहीलाई करारमा भर्ना हुँदैमा सबै बेरोजगार घट्छ र?
प्रधानमन्त्रीज्यूले कम्युनिष्ट सरकार बनिसकेपछि जनताले रुन पनि पाउँदैनन् र हाँस्न पनि पाउँदैनन् भन्ने कुरालाई बडो व्यंग्यात्मक कुरा गर्नु भयो। के साँच्चै अहिले जनताहरु हाँस्न त पाएका छैनन् तर रुन चाही पाइराखेका छन् भन्न खोज्नु भएको हो?
भवानीप्रसाद खापुङः सम्माननीय सभामुख माफर्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई एउटा प्रश्न गर्न चाहन्छु। सामुदायिक विद्यालयमा बहाल शिक्षकले शिक्षकले अहिले ६ हजार तलब खान्छन्। यस्तै सामुदायिक विद्यालयकै कर्मचारीले ४ हजार ५ सयदेखि ७ हजार ५ सयसम्म तलब लिने गरेका छन्। सरकारले तोकेको न्यूनतम १३ हजार ५ सय तलब उनीहरुले कहिलेदेखि प्राप्त गर्छन्? यसको जानकारी पाउन अनुरोध गर्दछु। धन्यवाद।
प्रकाश रसाइली स्नेहीः संसद बाहिर नागरिक समाज, बुद्धिजिबीहरुबीच एमसीसीको विषयमा व्यापक चर्चा भएको छ। र बुद्धिजिबीहरुकाबीचमा पनि पक्ष र विपक्षमा कुरा भइरहेको छ। सत्तासिन पार्टीभित्रै पनि मन्त्री पदमा आसिनबाहेक यसबारे पक्ष र विपक्षमा बहस भइरहेको छ। संसद र सडकको आवाज सम्बोधन गर्नु पर्ने सरकारको दायित्व हो। सम्माननीय प्रधानमन्त्रीज्यूबाट यसबारे आधिकारिक सरकारको धारणा के हो प्रष्ट पारिदिनु अनुरोध गर्दछु। अर्को कुरा प्रधानमन्त्रीज्यू, अमलेखगञ्ज भारतको मोतिहारी पेट्रोलिय पाइपलाइनको कुरा सुन्दा हाँसो पनि लाग्यो। त्यो पाइपलाइनको विषयमा लगानी पनि भारत सरकारको हो प्रविधि पनि भारत सरकारकै हो। सम्पूर्ण कुरा भारतले गरिदिएकोमा यो सरकारले आफ्नो उपलब्धीका रुपमा हेर्नु र उद्घाटन गरेको कुरा पनि उपलब्धीका रुपमा हेर्नु कति हाँस्यस्पद लाग्यो। त्यसैले यस्ता भ्रम दिने र संसदलाई आश्वस्त पार्ने झुटा कुरा नभनिदिएको भए आभारी हुने थिएँ।
https://www.facebook.com/himaldainik/videos/766329027110159/?t=0
मीनबहादुर विश्वकर्माः मिडिया काउन्सिल विधेयकबारे बजारमा र प्रतिपक्षीले गलत भ्रम फैलाएको छ भन्नु भयो। त्यसमा एउटा धारा नै व्यवस्था गरिएको छ कि सत्य, तथ्य, आधारवीना लेखिएका समाचार उपर पाँच वर्षसम्म सजाय र १५ लाख सम्म जरिवाना हुन सक्ने व्यवस्था छ। यदि पत्रकारले लेखेकै समाचारलाई सत्य, ठहर्याउने भए बाँकी अदालतका मुद्दाहरु सबै पत्रकारलाई जिम्मा लगाइदिए हुँदैन र प्रधानमन्त्रीज्यू? दोस्रो, संमृद्ध नेपाल भयो पनि भन्नु भएको छ। तर, वैदेशिक लगानी भनेजति आएको छैन, राजस्व भनेजति उठेको छैन त्यसकारण खर्च कम भयो भन्नु भएको छ। तर, मुलुक चाही संमृद्ध भयो भन्ने तथ्याङ्क आफैँमा भ्रमपूर्ण भएन र? बजारमा श्रमिकहरुको अभाव देखिएको छ भएको छ। त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक खाडी मुलुक जानेहरुको संख्या गन्दा आफैँमा उत्तर आउँछ जस्तो लाग्दछ।
रंगमती शाहीः भ्रष्टाचार म गर्दिन र हेर्ने पनि सक्दिन भन्नु हुन्छ। एनसेललाई दिएको करछुटको फैसलालाई के भन्नु हुन्छ? जाडो महिनामा कर्णालीका जनताका लागि कति जोर कपडा पठाउनु भयो? कर्णालीका जनता भोकै छन्, चामल बाटोमै कुहिन्छ। त्यहाँका जनता कहिलेसम्म अध्याँरोमै बस्नु पर्ने हो। सडक कालोपत्रे भएको छ भन्नु हुन्छ, म धेरै बाहिरको कुरा भन्दिन, सोह्रखुटेदेखि बालाजुसम्मको सडकमा एकचोटी सम्माननीय प्रधानमन्त्रीज्यूले गाडीको सीसा खोलेर हेरिदिनु हुन्थ्यो कि?
https://www.facebook.com/himaldainik/videos/192711978605407/?t=0
सत्यनारायण खनालः कर्मचारी समायोजन पूरा भएको छ भन्नु भयोे। कति गाउँपालिकामा एउटा वडा सचिव पनि छैन। समायोजन भनेको केही निकायमा गएका कर्मचारीहरुको विषयमा भनिएको हो कि? नयाँ बेरोजगारलाई रोजगारी दुई तीन प्रतिशतले उपलब्ध गराइएको भन्नु भयो। पुराना वेरोजगारलाई रोजगारी दिलाउनु यो सरकारको दायित्व पर्छ कि पर्दैन?
बालकृष्ण खाणः सरकारको निर्माण संविधान अनुकूल नै हुन्छ र संविधानको रक्षा गर्नु सरकारको पहिलो दायित्व हो। वर्तमान सरकारले मानव अधिकार आयोगको विधेयक, सूचना प्रविधि विधेयक, विशेष सेवा विधेयक लगायत विभिन्न विधेयकहरु सदनमा अगाडि बढाएको छ। यसले नेपालको संविधानको प्रतिकूल हुने धाराहरुलाई अगाडि बढाएको छ। नागरिकको अधिकारलाई पनि यसले संकुचन गरेको छ। त्यसकारण सरकार संविधान प्रतिकूल हुनेगरी गतिविधि किन गर्दैछ? यो जिज्ञासा राख्न चाहन्छु। र मौलिक अधिकार कार्यान्वयनमा सरकार किन उदासिन छ?
ज्ञानेन्द्रबहादुर कार्कीः प्रधानमन्त्रीले आफ्नो लामो भाषणमा धेरै कुरा उल्लेख गर्नु भएको छ। उहाँको भाषण सुनिरहँदाखेरि नेपाल समस्या रहित भयो र नेपाली जनता सुखी र संमृद्ध भए भन्ने किसिमको आभास हुन्छ। तर, वास्तविकता त्यो छैन। गाउँमा हुर्नुहोस्, सहरमा हेर्नुहोस्, पहाड हेर्नुहोस्, तराईमा हेर्नुहोस्, आम नेपाली जनता अहिले महंगीबाट आक्रान्त छन्। क्रयशक्तिको अभावमा उनीहरु छट्पटिरहेका छन्। यतातर्फ प्रधानमन्त्रीको के ध्यान गएको छ? एमसीसीको बारे प्रधानमन्त्रीजीले धेरै लामो चर्चा गर्नु भयो तर, म प्रधानमन्त्रीजीलाई प्रश्न गर्न चाहन्छुः कि एमसीसी कहिले कार्यान्वयन हुन्छ? पाँच वर्षभित्रमा यो पूरा हुनु पर्छ र त्यो कार्यान्वयन हुने दिन कहिले हो?
https://www.facebook.com/himaldainik/videos/193396108569171/?t=1
महेन्द्र राय यादवः उहाँले आफ्नो सम्बोधनमा संविधान सर्व स्वीकार्य भएको भन्नु भएको छ। तर, समाजवादी पाटीसँग उहाँले दुइ बुँदे सम्झौता गर्दाखेरि त्यसबारे संविधान संशोधनको के छ स्थिति? दोस्रो देशमा राजनीतिक स्थिरतामा सरकार स्थिर भएपनि राजनीतिक स्थिरता छैन। जबसम्म राजनीतिक मुद्दालाई सम्बोधन हुँदैन तबसम्म राजनीतिक स्थिरता हुँदैन। ह हुलाकी सडक राष्ट्रिय गौरवको योजनामा राखिएको छ। तर, हुलाकी सडकको व्यथितीको स्थिति छ। अहिले यसलाई प्रदेशमा पठाइएको छ। तराई मधेसमा सिंचाइको अवस्था हेर्यो भने अत्यन्त कमजोर छ। अहिले पनि ९ सय वोरिङहरु जडान भएको छ तर, संचालनमा छैनन्। नदी नियन्त्रणका लागि हामीले प्राधिकरणको कुरा उठाएका थियौँ तर, हुन सकेन। प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लथालिङ्ग अवस्थामा छ। यसलाई सुधार हुने र छानविन हुने अवस्था छ कि छैन? नागरिकता विधेयक दुई वर्षदेखि यसै छ।
दिव्यमणी राजभण्डारीः २ वर्षको बीचमा सबै सांसदहरुसँग पनि व्यक्तिगत रुपले छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिन चाहन्छु। चालु आवमा पर्यटन क्षेत्रमा आधारभूत लगानी किन कम भयो? नेपाल वायु सेवा निगमको गिर्दो अवस्थाको व्यवस्थापकलाई सुदृढीकरण गर्न समितिले दिएको निर्देशन किन पालना भएन? भिजिट नेपाल ट्वान्टी ट्वान्टीमा नीजि क्षेत्र र सरकारी क्षेत्रको समन्वय र समझदारीको कमजोरीले अहिलेसम्म उड्डयन प्राधिकरणको रेगुलेटर र अपरेशनको काम छुट्टछुट्टै हुन नसक्दा युरोपमा अहिलेसम्म कालोसूचिमा रहेको छ यसबाट देश कहिले मुक्त होला?
राजेन्द्रकुमार केसीः विकासको लामो फेहरिस्ता नै सुनाइयो। इन्डेक्स र इम्प्रेसनको परिभाषा नै सुनाइयो। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई पहिलो पटक उहाँ प्रधानमन्त्री हुँदा उहाँले एकवर्षभित्र मुलुकमा भएका तुइन विस्तापित हुन्छ भन्नु भएको थियो। अर्को वर्ष कुरा गर्दा उहाँले तुइन म्युजियममा मात्रै नेपाली जनताले हेर्न सक्छन् भन्नु भएको थियो। तर, आज दोस्रो कार्यकाललको दोस्रो वर्ष पूरा हुँदा पनि १३ वटा तुइन नेपालमा छ भनेर स्वीकार्नु भयो। मेरो प्रश्न छ, एउटा जाबो तुइन त विस्तापित गर्न नसक्ने सरकारले ठूला ठूला विकास गर्छु भनेर जनताले पत्याउलान कसरी?
https://www.facebook.com/himaldainik/videos/264134251234892/
मीना सुब्बाः प्रधानमन्त्रीज्यूले पटक पटक बोल्नु भएको छ म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न तर, नयाँ ऐनमा राजसंस्थाको जग्गा नेपाल ट्रष्टमा रहने व्यवस्था छ। गोकर्ण फरेष्ट रिसोर्टको २७९३ रोपनी जग्गा थामसेर्कुलाई ६ वर्ष म्याद छँदै २५ वर्षको म्याद थपिदिनु के यो भ्रष्टाचार होइन र प्रधानमन्त्रीज्यू? प्रधानमन्त्रीको शब्दमा होइन, व्यवहारमा जवाफ चाहियो।
चित्रलेखा यादवः आज प्रधानमन्त्रीज्यूले (३७१ दिन सीक)को आफ्नो कार्यकालको उपलब्धीहरु हामीबीच राख्दै गर्नुहुँदा थुप्रै विरोधाभासपूर्ण कुराहरु पनि गर्नु भयो। उहाँले लोडेसडिङको पूर्ण अन्त्यमात्र होइन, भारतलाई विक्री समेत गर्न थालिएको कुरा हामीलाई बताउनु भयो। तर, हिँजो भर्खर ललितपुरको धोवीघाटमा साँझ ६ देखि ९ बजेसम्म पटक पटक बत्ति गयो। उहाँले भन्नसक्नु हुन्छ, त्यो त बत्ती मात्रै निभेको हो नि छ, सात पटक। लोडसेडिङको अन्त्य त भएको छ भनि जवाफ दिनु हुन्छ। मैले यो जवाफ उहाँबाट अपेक्षा गरेको होइन। सत्य तथ्य के हो त्यो संसदलाई बताइदिनु पर्यो। दोस्रो कुरा, सबै नागरिकलाई न्याय दिने लोकतन्त्रमा म विश्वास गर्छु भन्नु भएको छ। यहि संसदभित्र उहाँको कार्यकालमा कोही सांसदहरु करोडपति र कोही खागपति बनाउने काम उहाँबाट किन भयो?
https://www.facebook.com/himaldainik/videos/123186139088933/?t=0
हिरा गुरुङः सरकारको दुई वर्षे कार्यकालमा धेरै राम्रा राम्रा नाराहरु लगाइएको पाइयो। यो अलिअलि उखान टुका जस्तै पनि लाग्यो र अहिलेसम्म जनताले भोगेकै छन्। संमृद्धिलाई मुल एजेण्डा बनाइयो तर, जनता गरिवी, अभाव र महंगीले पिसीएको पिसीएै भए। अर्कोतर्फ स्वतन्त्रता र मौलिक हकहरु सम्बन्धी कुराहरुमा पनि बन्देज लगाइएको पाइयो। यसकारण यो सरकार एकदलीय पञ्चायतको मार्गमा हिँडेको हो? द्धन्द्धको समयमा भएको क्षति र घाउ समन्वय गरी अगाडि बढ्न समय लाग्छ भन्नु भयो। कहिलेसम्म समाधान हुन्छ?
सुजाता परियारः प्रधानमन्त्रीज्यूले भन्नु भयो, सडक पिच भइसकेको छ। कतै पीचमाथि पिचैपीच भइराखेको छ कतै वर्षौँवर्षसम्म खाल्डाहरु पुरिएका छैनन् किन? महिलामाथि दिनप्रतिदिन हिंसाका घटनाहरु भइराखेका छन् तर, संवैधानिक महिला आयोग दुई वर्षभन्दा बढि समयदेखि किन रिक्त रहेको छ? महिला आयोगलाई पूर्णता दिन कसले र किन रोकिएको छ?
दुई वर्ष कार्यकाल पूरा गरेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारका उपलब्धी बारे जानकारी दिएको पुरा भिडियो हेर्नुहोस: https://www.youtube.com/watch?v=j2_kYC6n6UA&feature=share&fbclid=IwAR3aR0_WJUvO8rWYTimCqd5kJULgDGJyubU6YvvdTT4Kx3vqI-o_YL_Ehq8 https://www.youtube.com/watch?v=j2_kYC6n6UA&feature=share&fbclid=IwAR3aR0_WJUvO8rWYTimCqd5kJULgDGJyubU6YvvdTT4Kx3vqI-o_YL_Ehq8
दुई वर्ष कार्यकाल पूरा गरेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारका उपलब्धी बारे जानकारी दिएको पुरा भिडियो हेर्नुहोस: https://www.youtube.com/watch?v=j2_kYC6n6UA&feature=share&fbclid=IwAR3aR0_WJUvO8rWYTimCqd5kJULgDGJyubU6YvvdTT4Kx3vqI-o_YL_Ehq8 https://www.youtube.com/watch?v=j2_kYC6n6UA&feature=share&fbclid=IwAR3aR0_WJUvO8rWYTimCqd5kJULgDGJyubU6YvvdTT4Kx3vqI-o_YL_Ehq8
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय