प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग यती होलिडङ्स ग्रुपलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण माग गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद डिला संग्रौलाले यती होलिडङ्स ग्रुपलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण माग गरेकी छिन् ।
यती समुहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनु सरकारको नीतिगत भ्रष्टाचार हो भन्ने प्रष्ट भएको भन्दै उनले यसबाट राज्यलाई ५ अरब नोक्सानी भएको तर्क गरिन् । ललितानिवास जग्गा प्रकरणमा आफ्ना मान्छेलाई सत्ताले उन्मुक्ति दिएको आरोप उनको छ । उनले चीनमा रहेका नेपालीलाई सरकारले छिटो उद्धार गर्नुपर्ने पनि बताए ।
https://www.facebook.com/himaldainik/videos/1535191159962852/?t=20
बैठकमा(नेकपा) सांसद झपड बहादुर रावलले छुवाछुत उन्मुलन गर्न दलित समूदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्नसरकारसँग आग्रह गरे । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको बताए ।
कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लोकप्रिय नारा अघि सारेको भएपनि जनताले समृद्ध नेता, दुःखी नेपाली को महसुस गरिरहेको बताए ।
बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेका हुन् । त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत गर्न गृहमन्त्रीलाई अनुमति दिएको थियो ।
बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीले सभामा उक्त प्रतिवेदन पेश गरेका हुन् । बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन २ गते अपराह्न २ बजे बस्नेछ ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय