हिमाल दैनिक
अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानीको पाइप जडान गर्दा लापरबाही गर्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा खतिवडाले १६ करोडको पाइप जोड्ने क्रममा लापरबाहीले क्षति भएको बताए । त्यो कार्यमा जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्ने अर्थ मन्त्रालयको अडान रहेको खतिवडाले बताए । मन्त्रालयले मेलम्ची आयोजनालाई रकम उपलब्ध गराउने तर काममा लापरबाही गर्नेलाई कारबाही हुनुपर्ने खतिवडाले बताए । बैठकमा खानेपानीमन्त्री बिना मगरले विभिन्न निकायबीच समन्वय नहुँदा समस्या आएको र मेलम्ची खानेपानी आयोजनाले क्षति बेहोर्नुपरेको बताईन । खानेपानीका पाइप पुराना भएकाले थप क्षति भइरहेको र व्यवस्थापन गर्न समस्या आइरहेको उनको भनाई छ । त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटाले टेलिकम र केबुलका लाइनका साथै भूमिगत गरिने लाईनका सम्बन्ध युटिलिटी करिडोर मार्फत सहकार्य हुनुपर्ने बताए । उनले एउटै कामका लागि फरक फरक निकायबाट बजेट छुट्टाउदा समस्या हुने गरेको र बजेटकै दुरुपयोग हुनसक्ने बताए । समिति बैठकमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन कार्यालयका प्रमुख भोजविक्रम थापाले पाइप जडान र जमिनमुनि गाड्ने क्रममा १६ करोडको क्षति भएको बताएका थिए । समितिमा युटिलिटी करिडोरबारे छलफल भएको थियो । खानेपानीका पाइप, विद्युत लाइन, टेलिकम र केबुलका तारलगायतको कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update