अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले एउटा निकायका रुपमा आफ्नालाई बोक्ने र विरोधीहरुलाई ठोक्ने र प्रतिशोध साँध्ने अश्रका रुपमा दुरुपयोग गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधि सभाको बैठक अबरुद्ध पारेको छ।
शुक्रबारको बैठक सभामुख अग्निप्रसाद सापकोटाले सुरु गर्नासाथ प्रमुख विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाए। त्यसपछि सभामुख सापकोटाले कांग्रेस सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिए।
संसदमा बोल्दै विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अगाडि गरेको निर्णयका कारण राजनीतिक, न्यायिक र सुशासनको क्षेत्रमा बहसको विषय बनेको बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय झट्ट हेर्दा अख्तियार दुरुपयोग गर्ने अरु निकायकाबारेमा अनुसन्धान गर्नु पर्ने आयोग आफैले आफ्नो अख्तियारको दुरुपयोग गरेको भन्ने आफूहरलाई लागेको बताए।
आयोग आफैले अख्तियारको दुरुपयोग गरेको आरोप लगाउँदै उनले भने, ‘कारण प्रष्ट छ, ललिता निवास जग्गा प्रकरणमा जुन प्रधानमन्त्रीले त्यो निर्णय गर्नुभयो उहाँले त्यसलाई उपलब्धिका रुपमा लिनु भएको छ। मेरो मन्त्रिपरिषदले गरेको निर्णय हो यो उपलब्धि हो भन्नु भएको छ। जुन मुख्यसचिवले त्यो गुरुयोजनाको परिकल्पना गर्नुभयो उहाँले पनि यसलाई गौरवमय आयोजना भन्नु भएको छ। जसले योजना प्रस्ताव गर्नु भयो र त्यस अन्तर्गत मन्त्रिपरिषदले निर्णय गर्यो त्यो प्रस्ताव पेश गर्ने व्यक्तिले उन्मक्ति पाउने? जसले मन्त्रिपरिषदको अध्यक्षता गरी निर्णय गरे उनी पनि महान व्यक्ति र जुन निर्णयबाट लाभान्हित भएर लालपूर्र्जा बोकेर हिँड्दै हुनुहुन्छ उहाँ पनि महान व्यक्ति? तर, जसले प्रधानमन्त्रीको होस् वा सचिवको होस् वा प्रक्रियाबाट र जे भएको त्यो उहाँको मन्त्रालय अन्तर्गत पनि पर्दैन। लालपूर्जा बनाउने, कित्ताकाट गर्र्ने, जग्गाधनी किटान गर्ने कुरा, मोही खडा गर्ने कुरा भौतिक पूर्वाधार मन्त्रालयमा पर्छ? यो सामान्य व्यक्तिले पनि बुझ्ने कुरा हो।’
तत्कालिन मुख्यसचिवको समितिले बालुवाटार साँघुरो भयो, यसलाई विस्तार गर्ने गुरु योजना बताएको र त्यो योजना तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई मन परेपछि तालुकदार मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालयले बाटोको योजना कस्तो बनाउने कति क्षेत्र विस्तार गर्ने भन्ने योजना माग भएपछि त्यो सामान्य प्रक्रियाबाट लगेको तत्कालिन भौतिक योजना मन्त्रीलाई दोषी करार गर्र्ने र करोडौँको विगो थुपार्ने र कसुर सजायको माग गर्ने भनि उनले प्रश्न गरे।
साथै विश्वकर्माले जसले निर्णय गरे उनीहरु निर्दोष ठहरिने अनि त्यस निर्णयका आधारमा लालपूर्जा बोकेर अहिले पनि बैंकमा ४९ लाख ऋण त्यहि लालपूर्जाबाट आइराखेको छ उनी पनि निर्दोष ठहरिने भनि प्रश्नमाथि प्रश्न तेर्साए।
बाल्यकालमा आफूँले पढेको उखान उल्लेख गर्दै उनलेभने, ‘अँधेर नगरी चौपट्ट राजा, टक्कीशेर भाजी टक्कीशेर खाजा। कांग्रेसले संसदमा विरोध गर्नुको कारण यहि भएको छ।’
बालुवाटार प्रकरणमा बाख्री हरायो भन्ने कुरा नभइ शिकारी पल्कियो भन्ने कुरा जस्तै भएको बताउँदै उनले आफ्नो पार्टी भ्रष्टाचारमुक्त कानूनी राज्य र सुशासनकै पक्षमा रहेको प्रष्ट पारे।
भ्रष्टाचार र कुशासनले लोकतन्त्र बलियो र दिगो हुन सक्दैन भन्ने मान्यताकै आधारमा कांग्रेसको बहुमतको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन बनाएर आयोग गठन गरेको उनले दाबी गरे।
अख्तियारलाई संवैधानिक आयोग बनाएको र यसको तटस्थता र निश्पक्षता कायम गराउँछ भन्ने मान्यताको आधारमा भएको बताउँदै उनले भने, ‘तर, यहाँ कसुरदारहरुले उन्मुक्ति पाउने र निर्र्दोषहरु थुनिने कुरा न्याय प्रशासनमा हुन सक्दैन। सैयौँ अपराधीले उन्मुक्ति पाउन सक्छन् तर एक निर्दोषले सजायमा नपरोस् भन्ने हो। तर, यहाँ एउटा निर्दोषलाई पक्रिएर सारा कसुरदारहरुलाई उन्मुक्ति दिने पद्दतीको थालनी भयो यसकै विरुद्ध कांग्रेसको गम्भीर आपत्ति छ।’
अख्तियारले नेकपा महासचिव विष्णु पौडेल पुत्र नवीन र न्यायाधीश कुमार रेग्मीले जग्गा र लालपूर्जा फिर्ता गर्र्छु भनेकै आधारमा उन्मुक्ति दिएको विषयमा विश्वकर्र्माले भने, ‘एउटा डाक्टरले विरामीको किड्नी चोरेछ। अब चारवर्ष अगाडि चोरिएको किड्नी फिर्ता गर्यो भने त्यो डाक्टरलार्ई कारबाही हुन्छ कि हुँदैन? कुनै चोरले सामान चोरेको केही समयपछि पक्राउ परेर चोरेको सामान फिर्ता गर्यो भने उ पक्राउ पर्छ कि पर्दैन?’
न्यायिक निरुपणको निकायलाई नै सरकारको छायामा राखेर गरिने कार्य स्वीकार्य नभएको बताए।
सरकारका प्रवक्ता एवं संचारमन्त्रीले बिहिबार व्यक्त गरेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले अख्तियारको कामकारबाही पनि सरकारको एक उपलब्धी हो भनेको समाचार आएको बताए।
हिँजोसम्म अख्तियार कतै सरकारको छाया बन्यो कि भन्ने शंका मात्रै लागेको बताउँदै उनले सरकारका प्रवक्ताको अभिव्यक्ति अनुसार यो सरकारको उपलब्धी हो भने यो सरकारको नियोजित योजनामा कांग्रेसका मान्छेलाई दोष लगाएर थुन्ने प्रपन्चमा राजनीतिक प्रतिशोधपूर्ण छ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छाया बनेर सरकारको एउटा निकायका रुपमा बसेर आफ्ना पक्षकालाई बोक्ने र विरोधीजतिलाई ठोक्ने नीति लिएकोले आफ्नो दलको यसमा गम्भीर आपत्ति रहेको बताउँदै सदनको कारबाही चल्न नसक्ने बताए।
त्यसपछि कांग्रेसका सांसदहरु उभिएर सदन अवरोध गरे। सभामुख सापकोटाले पटक पटक यो विषय अब न्यायिक निरुपणको विषय बनेको बताउँदै यसमा सदन अवरोध नगरी प्रक्रिया अघि बढाउन आग्रह गर्दा पनि कांग्रेस सांसद उभिएपछि आधा घण्टाका लागि बैठक स्थगित गरे।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय