हिमाल दैनिक
संस्कृति,पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेशकुमार भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि चीनबाट पर्यटक कम आउने भएकाले पर्यटन मार्केटको खोजी सुरु भएको बताएका छन् । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिनु पहिले त्यहाँबाट नेपाल भ्रमण वर्ष २०२० मा ५ लाख पर्यटक आउने अपेक्षा गरिएको र अहिले त्यसमा कमी हुने आँकलन गरिएकोले वैकल्पिक बजार खोजिने बताए । मन्त्री भट्टराईले भने, “नठानेको र नसोचेको विषय कोरोना नोवल भाइरसले केही असर पु-याएको छ, पर्यटन वर्षका लागि जनशक्ति र स्रोत हामीसँग कमै छ, तथापि, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सरसफाइ, भौतिक पूर्वाधार निर्माण र अध्यागमन कार्यालयमा कामका हिसाबले निकै सुदृढ देखिएको छ । उनले कोरोना भाइरसलाई ध्यान दिँदै नेपाल भ्रमण वर्षलाई घाटा भयो भने परिपूर्ति कहाँबाट गर्ने भनेर अन्य मार्केट खोजी गर्नको निम्ती मन्त्रालयले फोकल पर्सन तोकेको समितिमा जानकारी दिए । चीनको विकल्पमा कहाँबाट पर्यटक ल्याउन सकिन्छ भनेर संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागको महानिर्देशकलाई फोकल पर्सन तोकिएको मन्त्री भट्टराईले जानकारी दिए । नेपालमा कोरोना भाइरसका संक्रमित नभएको र एयरपोर्टदेखि सबै ठाउँमा उच्च सतर्कता अपनाइएको भट्टराईले जानकारी दिए । उनले नेपालमा कोरोना भाइरस नभएको भन्ने कुराको प्रचारप्रसार गर्न पनि सांसदहरूलाई आग्रह गरे । त्यस्तै भ्रमण वर्षको लागि सरकारले साधनस्रोत र जनशक्ति बढाउने तयारी गरिरहेको पनि उनले बताए । भौतिक पूर्वाधार निर्माण, विमानस्थलको सुधार र सरसफाइमा पर्याप्त ध्यान दिइएको उनको भनाई छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभन्दा पहिल्यै निर्माण सम्पन्न हुने गरी काम भइरेको पनि उनले समितिमा जानकारी दिए । बैठकमा सांसदहरुले नेपाल भ्रमण वर्ष सफल पार्न सरकारको तयारी नपुगेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update