सुशासनको प्रतिबद्धता स्वरुप आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीप्रति स्वयं सत्तापक्षकै सांसदहरुले प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको मंगलबारकोे बैठकमा शून्य समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार गर्दिन भन्ने सरकार र त्यसका जिम्मेवारी व्यक्तिहरुले पछिल्लो समय सार्वजनिक भएका भ्रष्टाचारका घटनाको विषयमा तथ्यसहित जानकारी गराउन चुनौति दिए।
उनले ‘म पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्रीको घोषणाप्रति सम्मान प्रकट गर्दै, ठूला ठूला भौतिक पूर्वाधारहरुको निर्माण कार्यप्रति पनि धन्यवाद दिए।
यसरी भूमिका बाँधेर बोल्दै उनले भने, ‘तर एनसेलको कर लाभांसको विवाद, ह्रयात होटल प्रकरण, ललिता निवास प्रकरण, यति होल्डिङ प्रकरण, वाइड बडी प्रकरणजस्ता प्रकरणहरुले दिनदिनै ठूला मिडियाहरुमा छाएको छ। सभामुखमार्फत सम्बन्धित पक्ष एवं सरोकारवालाहरुले जस्ताको तस्तै जानकारी गराएर नेपाली जनतालाई के भएको हो छानविनसहित आउनका निम्ति विशेष अनुरोध गर्दछु।’
वाइड बडी खरिद प्रकरणको विषयमा संसदको सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदनलाई निस्तेज पार्दै सरकारले बेग्लै छानविन आयोग गठन गरेको भने पनि उक्त समितिले कुनै जिम्मेवारी नपाई सकिएको थियो भने प्रधानमन्त्री ओलीसँग निकट रहेको यति समूहलाई जग्गा भाडामा दिएको विषयमा ओलीले त्यसको बचाउ गरेका थिए।
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय