हिमाल दैनिक
पछिल्ला वर्षहरुमा सरकारका विभिन्न निकायका कामकारबाहीको विषयमा संसदीय समितिको काम नै निर्देशन दिनेमात्रै हुन पुगेको छ। पटक पटक संघीय संसदका समितिहरुले एक पछि अर्को गर्दै सरोकारवाला निकायलाई यसो गर्न वा त्यसो गर्न भनि झण्डै झण्डै ५ सय हाराहारीमा निर्देशन जारी गरिसके पनि सरकारी निकायले वेवास्ता गर्दै आएको गुनासो स्वयं संसदीय समिति र समितिका सदस्यहरुले गर्दै आएका छन्। यसैक्रममा प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले मुलुकभर रहेका पुराना पुलहरुलाई विस्थापित गर्दै नयाँ पुल निर्माणको प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राणनीतिक सडक अन्तर्गत रहेका पुराना पुललाई विस्थापित गर्दै नयाँ पुल निर्माण प्रक्रिया सुरु गर्न भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले हाल निर्मार्णाधिन अवस्थामा रहेका कतिपय पूलहरु डिजाइनमै समस्याग्रस्त देखिएकाले आगामी दिनमा निर्माण गरिने पुलहरु डिजाइन एण्ड विल्ड प्रविधीबाट अगाडी बढाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै बैठकले निर्माणको प्रक्रियामा रहेका र निर्माणधिन रहि बजेटको अभावमा अलपत्र अवस्थामा रहेका पुलहरुको अवस्था यकिन गरी अर्थ मन्त्रालय र योजना आयोजसंग समन्वय गरी स्रोत जुटाई सम्पन्न गर्न र प्राथमिकता दिएर मात्र अन्य पुल निर्माणको प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकले डिजाइनमा समस्या भएका निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबु बाहिरको अवस्थामा पुगेका पुलहरुको विवरण र समस्या समाधानका लागि कार्ययोजना समेत १५ दिनभित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्। बैठकमा बैठकमा सडक विभागका महानिर्देशक केशव शर्माले बजेट र दक्ष जनशक्तिको अभावले पुल निर्माणमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए। उनले बिभिन्न नदीमा पुलको अवलोकन गरेको भन्दै नयाँ बनाउनुपर्ने वा पुरानोलाई ममर्त गर्ने भन्ने बारेमा छलफल भइरहेको जानकारी दिए। त्यस्तै सांसदहरुले रणनीतिक सडकका पुल र अन्य पुल निर्माणले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए। पुल निर्माणमा कामभन्दा कुरा बढी भएको टिप्पणी गर्दै तत्काल समस्या पहिचान गरी समाधानतिर लाग्न उनीहरु सुझाव दिए। समितिको बैठकमा पुल महाशाखाका प्रमुख दीपक भट्टराईले मुलुकभर जम्मा दुई हजार ९१ वटा रणनीतिक सडकका पुल निर्माण गर्नुपर्नेमा ४२५ निर्माण सम्पन्न भइसकेको, करिब १६ सय निर्माणाधीन अवस्थामा र केही पुलहरुको निर्माण काबुबाहिरको परिस्थितिमा रहेको जानकारी दिए। विभागले चालू आर्थिक वर्षमा ३०० वटा थप पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update