हिमाल दैनिक
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्नः कसले दिँदैछ नेपाललाई ठूलो धक्का? हामी पनि थाहा पाउँ न!
प्रतिनिधि सभा बैठक
नेपाली कांग्रेसका सभापति एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले तटस्थ र निश्पक्ष भूमिका निर्वाह गरी सदनको गरिमा कायम गर्ने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा नवनिर्वाचित सभामुख सापकोटालाई बधाई तथा शुभकामना दिने क्रममा देउवाले धेरै ठूलाे रस्साकसीका बाबजूद मुस्किल मुस्किलले ढिलै भएपनि सभामुख निर्वाचित भएकोमा उनलाई बधाई तथा शुभकामना दिए। सभामुख सापकाेटाको कार्यकालमा आफ्नो पार्टीको पूरा सहयोग रहने आश्वासन दिँदै देउवाले सभामुख पदमा आफ्नो दलले उम्मेदवारी नदिनुको कारणबारे प्रष्टिकरणामा भने, 'यो पद तटस्थ र निश्पक्ष पद हाे।' संसदीय प्रणालीमा संसद विपक्षीको हो भन्ने विश्वभर स्थापित मान्यतालाई तत्कालिन सभामुख दमननाथ ढुंगानाले स्थापित गरेको देउवाले स्मरण गरे। बेलायतको संसदमा पनि सभामुखले सदन विपक्षीकै हो भनि पछिल्लो समय सम्झाएको उल्लेख गर्दै देउवाले सभामुख सापकोटाले यो मान्यतालाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरे। सभामुख पद आफैँमा तटस्थ र निश्पक्ष पद रहेको र सरकारको काममा आलोचना गर्ने काम विपक्षीको भएको बताउँदै विपक्षीलाई यसका लागि सभामुखले हौसला प्रदान गर्ने आशा पनि देउवाले व्यक्त गरे। सरकारले संसदमा केही प्रतिकूल विधेयकहरु प्रस्तुत गरेको उल्लेख गर्दै देउवाले पहिलेदेखि नै आफ्नो दलले प्रेस स्वतन्त्रता, मानव अधिकार र नागरिकको मौलिक हक विरोधी कानूनले लोकतन्त्र बलियो नहुने र त्यो आफ्नो दललाई मान्य नहुने भन्दै विराेध गरेकाे स्पष्ट अभिव्यक्ति दिए। ‘जहाँ प्रेसमाथि नियन्त्रण हुन्छ त्यहा प्रजातन्त्र चल्न सक्दैन। त्यसैले निर्वाध प्रेस स्वतन्त्रता आवश्यक छ,’ उनले भने। प्रेस स्वतन्त्रता, मानव अधिकार र मौलिक हक विपरितका प्रावधानहरु राखेर विधेयकहरु आउन थालेकोमा चिन्ता व्यक्त गर्दै देउवाले सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको बोलि र व्यवहारमा विरोधाभास भएको आक्षेप लगाए। ‘प्रधानमन्त्रीजी (केपी शर्मा ओली)ले यहाँ अहिले कति राम्रोे लोकतन्त्रको कुरा गर्नु भयो, बढो खुशी लाग्यो तर, लोकतन्त्रको खिलाफमा भएका कामहरु हटाउनु पर्यो,’ देउवाले थप्दै भने, ‘यो लोकतन्त्रमा कुनै पनि हालतले नसुहाउने कुरा हो।’ संसद र सदनलाई प्रभावकारी बनाउन सभामुखले प्रतिपक्षीलाई विश्वासमा लिनु पर्ने बताउँदै यसले मात्रै सरकार, संसद र सबैको सफलता सुनिश्चित गर्ने उनले बताए। उनले सदनमा सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउन सभामुखले सरकारलाई आदेश वा निर्देशन दिनु पर्ने अवस्थाबारे सभामुखको ध्यानाकर्षण गराए। शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टीको पूर्ण सहयोग रहने आश्वासन दिँदै यसमा पनि सभामुखको समेत सहयोगको अपेक्षा गरे। हालै चीनमा विकराल रुपमा फैलिँदै गएको कोरोना भाइरसको समस्या नेपालमा पनि आउन सक्ने तर्फ संकेत गर्दै देउवाले यसको नियन्त्रणमा सरकारको प्रभावकारी भूमिकामा जोड दिए। चीनमा रहेका नेपालीहरुको अवस्थाबारे गम्भीर चासो र चिन्ता व्यक्त गर्दै देउवाले उनीहरुको अवस्थाबारे सरकारलाई दुई पक्षिय वार्तामार्फत पहल लिन सभामखुले सरकारलाई निर्देशन दिन पनि माग गरे। यसअघि बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षको प्रारम्भमै केही धक्का लागेको भन्ने अभिव्यक्तिप्रति देउवाले स्पष्टिकरण माग गरे।
‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नु भयो। के धक्का हो यो? कहाँबाट आउने धक्का हो यो? नयाँ कुरा सुनेँ मैले। ठूलो धक्का आउँछ नेपालमा भन्नु भयो, कसले दिने वाला छ यो धक्का? हामीले पनि थाहा पाउँनु पर्यो। त्यसको सामना गर्न सहयोगका लागि हामी पनि तयार छौँ। कसले धक्का दिन सक्छ, हामी पनि हेरौँ। धक्का कसले दिँदैछ, प्रधानमन्त्री बोल्नु भएको छैन,’ देउवाले भने।
https://www.facebook.com/himaldainik/videos/488087658563611/?t=0 बहुचर्चित एमसीसी सम्बन्धी सम्झौता आफ्नै नेतृत्वको सरकार रहेको बेला मन्त्रिपरिषदले पारित गरेको र उक्त सहयोग सम्बन्धी विषय धेरै अगाडिदेखि छलफल सुरु भएर आएको उनले बताए। उक्त सहयोग सम्झौताले नेपाललाई धेरै ठूलो फाइदा हुने बताउँदै यति ठूलो सहयोग अमेरिक सहयोग नेपालमा कहिल्यै नआएको उनले दाबी गरे। एमसीसीको विषयमा कतिपय सत्तापक्षकै नेताहरुले समेत नेपालमा उक्त सयोगको नाममा अमेरिकी सेना आउनेबारे हल्ला गरिरहेको प्रति लक्षित गर्दै देउवाले भने, ‘हामी मिलिटरी एलाइन्स मान्दैनौँ भने भइहाल्यो नि। कसले भनेको छ कि मिलिटरी एलाइन्समा बस्नै पर्छ भनेर?’ अमेरिकाले नै यसमा सैन्य सहकार्य छैन भनिसकेको र चीनले समेत यसमा आफ्नो आपत्ति नभएको बताइसकेको भन्दै एमसीसी सदनबाट जतिसक्दो चाँडो अनुमोदन गराउन देउवाले माग गरे। https://youtu.be/cXGxWSyPTWo
प्रकाशित मिति: शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update