प्रतिनिधि सभामा रिक्त रहेको सभामुख पदका लागि प्रमुख आकांक्षीका रुपमा देखिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ स्वयंले पार्टी सदस्य अग्निप्रसाद सापकोटाको नाम सदनमा सभामुख पदका लागि पेश गरेका छन्।
आइतबार अपरान्ह करिब २० मिनेट ढिला गरी सुरु भएको प्रतिनिधि सभाको बैठकमा सभामुखको कुर्सीबाट जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदमा एक मात्र नाम आएको भन्दै प्रस्तावका प्रमुख प्रस्तावक नेम्वाङलाई समय दिए।
विगतमा छोटोमा आधा घण्टा समय लिएर बोल्ने गरेका उपनेता नेम्वाङले आज भने पछिल्लो दुई कार्यकालकै छोटो समय लिएर बोल्दै विशेष परिस्थितिका कारण सभामुखको चयन नहुँदा सदन प्रभावित भएको बताए।
उनले लामो समयदेखि शिक्षण पेशमा रहेका सापकोटाको विरुद्धमा अरु कुनै सदस्यको उम्मेदवारी नपरेको कारण सदनले सर्वसम्मत नेतृत्व चयन हुने सहमतिको वातावरणले उनलाई सदनको नेतृत्व लिन सहज बनाउने बताए।
तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि पदमुक्त भएर रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना बमोजिम उक्त पदमा नेम्वाङ प्रमुख दाबेदार रहेका थिए।
तर, पार्टीभित्रको विवादमा अन्ततः द्वितीय अध्यक्ष पुष्पकमल दाहालको अडान अनुसार सापकोटाको नाम पार्टीले प्रस्ताव गरेपछि नेम्वाङको चाहनामा तुषारापात भएको थियो।
त्यसपछि उक्त प्रस्तावका समर्थक देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्णले उक्त नाममा समर्थन जनाएका थिए। उनीहरुको तुलनामा ओनसरी घर्तीले अलि लामो समय लिएर सापकोटाको पक्षमा वकालत गरेकी थिइन्।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय