सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादको अन्त्यसँगै माघ ६ गतेबाट सुचारु भएको प्रतिनिधि सभाको आज बस्ने बैठकले सदनको नयाँ सभामुख चयन गर्ने भएको छ।
असोज १४ मा तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लागेपछि राजीनामा दिएर रिक्त रहेको सभामुख पदमा नेकपाले पार्टी नेता अग्निप्रसाद सापकोटाको नाम अघि सारेपछि उनको विरुद्धमा कुनै पनि दलले उम्मेदवारी दिएका थिएनन्।
संसद सचिवालयले आज अपरान्ह ३ बजे बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचि सार्वजनिक गर्दै आजको बैठकले सभामुखमा सापकोटालाई निर्वाचित गरियोस् भन्ने एकमात्र कार्य तालिका रहेको जनाएको छ।
आजको बैठकमा जेष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरले अध्यक्षता गर्ने छन्।
सभामुखको कुर्सीबाट ठाकुरले कार्यसूचिमा रहेअनुसार, सापकोटालाई सभामुख निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेको जानकारी दिँदै उक्त प्रस्तावका प्रस्तावक एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई आफ्नो प्रस्ताव सदनसमक्ष राख्दै बोल्न समय दिनेछन्।
नेम्वाङको प्रस्तावमा समर्थकका रुपमा रहेका नेकपाका मुख्य सचेतक देवप्रसाद गुरुङ, राजपा नेता लक्ष्मणलाल कर्ण र नेकपाकी सांसद ओनसरी घर्तीमगरले बोलेर समर्थन जनाएपछि सभामुखमा सापकोटा सर्वसम्मत निर्वाचित भएको घोषणा हुने छ।
प्रतिनिधि सभा नियमावलीको परिच्छेद ३ को नियम ७ अन्तर्गत उपनियम (३) अनुसार, सभामुख पदका लागि एक जनाको मात्रै उम्मेदवारी दर्ताको सूचना परेमा प्रस्तावक र समर्थकले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित नाम सर्वसम्मत निर्वाचित भएको घोषणा गर्ने प्रावधान रहेको छ।
पूर्व माओवादी नेता सापकोटामाथि व्यक्ति हत्याको आरोपमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएपनि अदालतले उक्त रिटमाथिको सुनुवाईमा जानाजान विलम्ब गरेपछि सापकोटालाई सभामुख हुने बाटो खुला भएको छ।
उनी विरुद्ध विभिन्न मानव अधिकारवादी र सरोकारवालाहरुले सडक र सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन्।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय