प्रतिनिधि सभाको सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादका कारण लामो समयदेखि अवरुद्ध रहेको प्रतिनिधि सभा बैठक सोमबार पुनः सुचारु भएपछि आजको दोस्रो बैठकमा जेष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन्।
आजै अपरान्ह १ बजे बसेको बैठकमा उपसभामुख शिबमाया तुम्बाहाङफेले नेकपा सचिवालयको निर्णय अनुसार संसदलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएपछि संसदको सभामुख र उपसभामुख पद रिक्त हुन पुगेको थियो।
त्यसलगत्तै जेष्ठ सदस्य ठाकुरले सदनको अध्यक्षता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका थिए।
त्यसपछि अपरान्ह ४ बजे बसेको संसदको दोस्रो बैठकको सुरुवात गर्दै ठाकुरले सदनसमक्ष उपसभामुख तुम्बाहाङफेले संविधानको धारा ९१ र प्रतिनिधि सभा नियमावली बमोजिम पदबाट दिएको राजीनामा बाचन गरेर सुनाएका थिए।
त्यसपछि सभाध्यक्षको हैसियतले ठाकुरले माघ १२ गते आइतबार सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्न संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका थिए।
सत्तारुढ नेकपाले सभामुख पदका लागि सांसद अग्निप्रसाद सापकोटाको नाम अघि सारेको छ।
अर्को बैठक सभामुखको निर्वाचन पश्चात १२ गते अपरान्ह ३ बजे बस्ने छ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय