हिमाल दैनिक
प्रतिनिधिसभाको बैठक सोमबार बस्ने भएको छ। लामो समयदेखि पटक–पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको संसद बैठक आजका लागि बोलाइएको थियो। संसदको पाँचौं अधिवेशन शुरु भएको पुस ४ गते पछि आज बस्ने बैठक दोस्रो बैठक हो। यसैबीच संघीय संसद सचिवालयले आजैबाट सभामुख चयनको प्रक्रिया शुरू गर्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया शुरू हुने भएको हो । प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की छ । यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित भएको थियो। प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गरेकी थिइन्। दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन्। यद्यपि संविधानको धारा ९१ को उपधारा २ बमोजिम उक्त पदमा नेकपाका सांसद सापकोटाको मनोनयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुनु पूर्व उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनु पर्दछ। बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख रिक्त भएसँगै संसदले पारित गरेका विधेयक प्रमाणीकरणका लागि सिफारि नभई संसदमै अलपत्र छन्। प्रतिनिधिसभा बैठक सञ्चालन नियममावलीअनुसार उपसभामुखले सोमबार बैठक शुरु हुनुपूर्व नै राजीनामा दिएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । उपसभामुख तुम्बाहाङ्फेले आज संसद बैठक शुरु हुनभन्दा केही समय अघि राजीनामा दिने बताएकी छिन्। उनले राजीनामा दिएपछि बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ठाकुरले गर्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update