हिमाल दैनिक
‘समितिको निर्देशन सरकार किन टेर्दैन’
digo bikash
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले समितिले पटकपटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । समितिको आजको बैठकमा अधिकांश सांसदले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासलगायत मन्त्रालयलाई विभिन्न विषयमा निर्देशन दिए पनि कार्यान्वयन नगरी समितिको अपहेलना गरेको भन्दै अहिलेसम्मका निर्देशन कार्यान्वयन भए÷नभएका बारे समितिले नै अनुगमन गर्नुपर्नेमा जोड दिए। समितिका सदस्य दीनानाथ शर्माले अहिलेसम्म समितिले दिएको निर्देशन कार्यान्वयन भए÷नभएका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्री वा सचिवलाई बैठकमा आमन्त्रण गरी जवाफ माग्नुपर्ने बताए । सदस्य विमला पौडेलले निर्देशन कार्यान्वयन सम्बन्धमा अनुगमन गर्दै बजार अनुगमनलाई पूर्णता दिनुपर्नेमा जोड दिईन । सदस्य कालीबहादुर मल्ल र खिमकुमार विकले बजार अनुगमनसँगै छड्के अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । सदस्य कमलाकुमारी ओलीले पछिल्लो समयमा यातायात क्षेत्रमा समस्या बढ्दै गएकाले समाधानका लागि अनुगमनपछि मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताईन । सदस्य महेशकुमार महरा, भैरवसुन्दर श्रेष्ठ, मुक्ताकुमारी यादव, कविता बोगटीलगायतले सरकारले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास समितिको निर्देशन किन मान्दैन भनी प्रश्न गरे । सभापति तारादेवी भट्टले समितिले दिएका निर्देशन कार्यान्वयन भए÷नभएको बारे सम्बन्धित मन्त्रालयसँग जवाफ मागिने बताईन ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update