माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा तामझामका साथ दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश २ मा सत्तारुढ नेकपाले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरी संयुक्त उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय धनुषामा र्यालीसहित पुगेर दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभामा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ८ जनामध्ये ४ जनाको कार्यकाल सकिन लागेकाले ती पदमा निर्वाचन हुन लागेको हो । नेकपा र राजपाको गठबन्धनबाट अल्पसंख्यकबाट शेखरकुमार सिंहले उम्मेदबारी दिनुभएको छ । यो गठबन्धनबाट महिला सदस्यमा पदमा नेकपाकी तुलसा दाहालले उम्मेदवारी दिएकी छिन्।
दलित सदस्य पदमा राधेश्याम पासवानले यो गठबन्धनबाट उम्मेदबारी दिएका छन् । अन्य खुल्ला सदस्यमा गठबन्धनबाट मृगेन्द्रसिंह यादवले उम्मेदवारी दिएका छन्।
कांग्रेस–समाजवादी गठबन्धनबाट अल्पसंख्यक पदमा कांग्रेसका भोला पञ्जियारको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा कांग्रेसकै नगीना यादवको उम्मेदवारी परेको छ । दलित सदस्य पदमा समाजवादी पार्टीका रामप्रित पासवानको उम्मेदवारी परेको छ खुल्ला अन्य पदमा समाजवादी पार्टीका अनिरुद्व यादवले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ मा जम्मा ३ सय ७९ जना मतदाता छन्। कुल मतदातामध्ये नेकपा र राजपाको स्पष्ट बहुमत रहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय