हिमाल दैनिक
राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता
national assembly
राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । आइतबार सातै प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगी बिभिन्न दलका उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका हुन् । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एकजना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्नेे कानूनी व्यवस्था छ । राष्ट्रियसभाका सदस्यको पहिलो पटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुई वर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो । राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे र बलरामप्रसाद बाँस्कोटा रहेका छन् । यस्तै मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि कार्यकाल पूरा हुँदैछ । उनीहरुको आगामी फागुन २० गते कार्यकाल सकिनेछ । फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update