नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य पदका लागि हुन लागेको निर्वाचनमा पार्टीको रणनीति तग गरी उम्मेदवारहरुको सूचि तयार पार्न केन्द्रीय कार्यसमिति बैठक बिहिबारका लागि बोलाएका छन्।
संसदीय समिति नभएको अवस्थामा यसअघि उपनिर्वाचनमा जस्तै सभापति देउवाले केन्द्रीय कार्यसमितिकै बैठकबाट छलफल गरी टुंगो लगाउने तयारी गरेपनि विगत केही हप्तादेखि पार्टीभित्र गम्भीर विवाद चर्काउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरु भने अनुपस्थित रहने संकेत देखा परेको छ।
गत निर्वाचन पूर्व गठित संसदीय समितिको वैधानिकतामाथि प्रश्न चिन्ह खडा गर्दै निर्वाचनमा पराजय पश्चात सभापतिलाई उक्त समिति विघटन गर्न दबाब दिएका नेता पौडेलले अहिले उम्मेवारी चयनको विषयमा संसदीय समिति नहुँदा केन्द्रीय कार्यसमिति बैठक समेत बहिष्कार गरेर सभापति देउवालाई थप असहजताको स्थितिमा पुर्याइदिएका छन्।
बिहिबार अपरान्ह २ बजेका बैठकको तिथि, मिति र समय तोक्नु अघि सभापति देउवाले मंसिर २६ गतेदेखि बैठक बहिष्कार गर्दै आएको असन्तुष्ट पक्षका नेता पौडेलसँग परामर्श गर्न उपसभापति विमलेन्द्र निधिलाई सोमबार बिहान पौडेल निवासमा पठाएका थिए।
उक्त परामर्शमा पुगेका उपसभापति निधिलाई पौडेलले आफ्नो पूर्ववत अडान दोहोर्याउँदै गत शुक्रबार पार्टीले लिएको निर्णय नसच्याएसम्म आफूहरु १७ गतेको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए। साथै राष्ट्रिय सभामा उम्मेदवार चयनको विषयमा आफ्नो पक्षबाट केन्द्रीय सदस्य मीनेन्द्रप्रसाद रिजाललाई जिम्मा दिएको र उनैसँग परामर्श गर्न भन्दै पौडेलले निधिलाई फर्काइदिएका थिए।
पौडेलसँगको वार्ताबारे सभापतिलाई जानकारी गराएका निधिले त्यसपछि असन्तुष्ट पक्षका नेता रिजालसँग कुराकानी गरेको र उक्त कुराकानीका क्रममा उनले पनि पौडेलकै जस्तो जवाफ दिएको स्रोतले बतायो।
आफूहरु केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुन नसक्ने बताउँदै रिजालले तर, नेतृत्वले उम्मेवारीको विषयमा आफ्नो तर्फको परामर्श चाहेको भए अनौपचारिक रुपमै परामर्श दिने र नभएपनि पार्टीले लिएको निर्णय र केन्द्रीय कार्यसमितिले तय गरेको उम्मेवारहरुको विषयमा विरोध नरहने जानकारी पनि दिएका थिए।
सात प्रदेशबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको मतका आधारमा निर्वाचित हुने १९ सदस्यमध्ये कांग्रेसको तर्फबाट एक जना पनि निर्वाचित हुने सम्भावना नरहेपनि पार्टीले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिने तयारीका लागि पार्टीको बैठकमा अनुपस्थित रहँदा पौडेल पक्षमाथि नैतिक प्रश्न उठ्न सक्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय